गान्तोक, 13 जून (हि.स.)। गान्तोक जिल्ला प्रशासनले सिक्किमको समृद्ध सांस्कृतिक धरोहर र पहिचानको संरक्षण एवं संवर्धनको पक्षमा एक उल्लेखनीय कदम उठाएको छ। प्रशासनले अब हरेक शुक्रवार जिल्ला प्रशासनिक केन्द्र, गान्तोकका अधिकारीहरू र कर्मचारीहरूलाई आफ्नो परम्परागत पोशाक लगाउन निर्देश जारी गरेको छ।
गान्तोक जिल्लाका जिल्लापाल तुषार जी. निखारेले आज जारी गरेको एक परिपत्रमा यस आशयको जानकारी गराइएको छ। परिपत्रमा जिल्ला प्रशासनिक केन्द्र, गान्तोकका सबै अधिकारीहरू र कर्मचारीहरूलाई हप्तामा एक दिन शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन निर्देश दिइएको छ।
प्रशासनले यो पहल राज्यको समृद्ध सांस्कृतिक धरोहर र पहिचानको संरक्षण एवं संवर्धनको निम्ति उठाएको जनाएको छ। प्रशासनले आगामी शुक्रवारदेखि सबै सम्बन्धितहरूलाई उक्त निर्देशन पालन गर्न अनुरोध पनि गरेको छ।
उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्ना धेरै जन सम्बोधनहरूमा हप्तामा एक दिन सरकारी कर्मचारीहरूलाई आआफ्नो परम्परागत पोशाक लगाएर कार्यालय जान आह्वान गर्दै आइरहेका थिए।
हिन्दुस्थान समाचार / बिशाल