राजनीति भनेको आलोचना सहेर जवाफ दिन सक्ने संयम हो: सीएपी सिक्किम
राजनीति भनेको आलोचना सहेर जवाफ दिन सक्ने संयम हो: सीएपी सिक्किम


गान्तोक, 12 जून (हि.स)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले जब सरकारसँग जनताका गम्भीर प्रश्नहरूको जवाफ हुँदैन, तब शब्दजाल र भावनात्मक भाषाबाट ढाकछोप गर्न खोजिन्छ भनी बताएको छ। जति नै उपमा, कटाक्ष र साहित्यिक भाषाको प्रयोग गरिए तापनि जनताले अपेक्षा गरेको कुरा विकास, सुशासन र पारदर्शिता रहेको पार्टीको भनाई छ।

उल्लेखनीय छ, सीएपी सिक्किमले हालैमा एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमण रद्द भएको मुद्दा उठाउॅंदै राज्य सरकारमाथि विभिन्न आरोप लगाएको थियो। सीएपीका आरोपहरूको जवाफमा एसकेएम पार्टीका प्रवक्ता सीपी शर्माले पनि सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाएका थिए।

सीएपी सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा भनेका छ, शिक्षा, स्वास्थ्य, पूर्वाधारको अवस्था र प्रधानमन्त्रीको भ्रमण रद्द हुनुजस्ता संवेदनशील विषयहरूमा स्पष्ट जवाफ दिनुको सट्टा, एसकेएम पार्टीले व्यक्तिगत आरोप र व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएको देखियो। यस्तो शैली शासन सञ्चालनको होइन, सामाजिक सञ्जालमा भाइरल हुने प्रयासजस्तो देखिन्छ।

सीएपी सिक्किमले ‘विकसित भारत’ को नाममा आफ्नो उपलब्धि देखाउनु एसकेएम सरकारको अधिकार हो, तर जनताले अनुभूति नै नगरेको विकासलाई पोस्टर र प्रचारमार्फत देखाउने काम छल हो, सेवा होइन भनी बताएको छ।

सिक्किम–दार्जिलिङ एकीकरणको सम्भावना, भारतीय सेनाद्वारा कञ्चनजङ्घा आरोहण, र गोरखा सेवा सेनासम्बन्धी प्रकरणहरूमा उठाइएका चिन्ताहरू देशप्रेम र संविधानप्रति प्रतिबद्धता हो भन्दै सीएपी सिक्किमले यस्ता विषयमा प्रश्न गर्नु राष्ट्रघात होइन, सचेत नागरिकको कर्तव्य ठहर गरेको छ।

प्रधानमन्त्रीको भ्रमण रद्द हुनु सामान्य हो भन्ने कुरा यदि सही हो भने त्यसबारे स्पष्ट जानकारी किन दिइएन? प्रधानमन्त्री किन आएनन्? मौसम मात्रै कारण थियो कि अरू पनि कारण थिए? भनी सीएपी सिक्किमले आफ्ना प्रश्नहरू दोहोऱ्याएका छन्।

सीएपी सिक्किमले भनेको छ, राजनीति भनेको आलोचना सहेर जवाफ दिन सक्ने संयम हो, भर्त्सना र अपमान होइन। हाम्रो लक्ष्य सरकार गिराउन होइन, सरकार सच्याउनु हो। हाम्रो उद्देश्य सत्ता होइन, जवाफदेहिता हो। यदि एसकेएम पार्टीका नेताहरूले भावनामा होइन, तर्कमा आधारित संवादको अभ्यास गर्न चाहन्छन् भने हामी सधैं खुला बहसका लागि तयार छौं।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande