जीटीए आईडलको सेमिफाइनल राउण्ड 23 जूनदेखि हुने
जीटीए आईडलको सेमिफाइनल राउण्ड 23 जूनदेखि हुने


सोनादा, 12 जून (हि.स.)। जीटीए आईडलको सेमिफाइनल एवं फाइनलको मितिको घोषणा गरिएको छ। यस विषयमा जानकारी गराउँदै जीटीएको सूचना एवं संस्कृति विभागका‌ कार्यकारी सभासद एवं सोनादा पचेङ समष्टिका सभासद अनोश थापाले एक भिडियो जारी गरेर जीटीए आईडलको अडिशन जीटीए क्षेत्रको सबै 45 वटै समष्टिहरुमा समाप्त भएपछि आगामी 23 जूनदेखि सेमिफाइनल राउण्ड शुरू हुने भएको जानकारी गराएका छन्।

उनले जीटीए आईडलको ग्राण्ड फाइनल आगामी 3 अगस्तको दिन सम्पन्न हुने पनि जानकारी गराएका छन्। कार्यकारी सभासद अनोश थापाले बताए अनुसार, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा स्थानीय युवा कलाकारहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा शुरु भएको जीटीए आईडलको अडिशन जीटीएको सबै 45 वटै समष्टिहरुमा समाप्त भएपछि आगामी 23 जूनदेखि सेमी फाइनल राउण्ड शुरु हुनेछ।‌

यस सेमिफाइनल राउण्डमा प्रतियोगीहरुले दुईवटा गरेर भारतीय नेपाली संगीतका गीतहरु गाउनु पर्नेछ। उक्त सेमिफाइनल राउण्ड दुई चरणमा हुनेछ। पहिलो चरणमा आगामी 23 जूनमा खरसाङ क्षेत्रका 12 जना प्रतियोगीहरुले भाग लिनेछन् भने 25 जूनमा कालेबुङ क्षेत्रका 10 जना प्रतियोगीहिले भाग लिनेछन्। त्यसरी नै 26 जूनमा दार्जिलिङका 7 जना प्रतियोगीहरुले भाग लिनेछन् भने 30 जूनमा मिरिकका 4 जना र गोरुबथानका 3 जना गरी 7 जनाले भाग लिनेछन्।

जीटीए आईडलको सेमिफाइनलको दोस्रो चरण आगामी 1 जुलाईदेखि 6 जुलाईसम्म हुनेछ। त्यसरी नै जीटीए आईडलको ग्राण्ड फाइनल आगामी 3 अगस्तको दिन सम्पन्न हुनेछ। दार्जिलिङ पहाडको युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्नुका साथै भारतीय नेपाली संगीतलाई प्रबर्ध्दन गर्ने उद्देश्यको साथमा जीटीए आईडलको आयोजना गरिएको सभासद अनोश थापाले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande