भीकेएसएको समापन कार्यक्रम पाकिम जिल्लाको ताजा र बिरिङ-तारेथाङ गाउँमा आयोजित
भीकेएसएको समापन कार्यक्रम पाकिम जिल्लाको ताजा र बिरिङ-तारेथाङ गाउँमा आयोजित


गान्तोक, 12 जून (हि.स.)। विकसित कृषि सङ्कल्प अभियान (भीकेएसए) अन्तर्गत समापन कार्यक्रम ताजा र बिरिङ-तारेथाङ ग्राम पञ्चायतमा आयोजित गरियो। वरिपरीका गाउँहरूबाट 300 जति कृषकहरूले यसमा भाग लिँदै कृषिसित सम्बन्धित चुनौती, सम्भावना तथा विभिन्न सरकारी योजनाहरूबारे चर्चामा उनीहरू सहभागी बने। प्रत्यक्ष सरकारी सम्पर्क, विशेषज्ञहरूसँगको अन्तरक्रिया तथा तृणमूल स्तरमा योजनाको सुगमिकरणले ग्रामीण आजीविका सुदृढिकरणको अभियानलाई कार्यक्रमले बल प्रदान गरेको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।

कार्यक्रमलाई आइसीएआर-कृषि विज्ञान केन्द्र (केभीके), पूर्व सिक्किमद्वारा सिक्किम सरकारको कृषि, बागवानी, पशुपालन तथा मत्स्य पालन विभागको संयुक्त तत्वावधानमा आयोजित गरिएको थियो। यी विभागहरूसँगको सहक्रियाले अनुकूल योजनाहरू, परामर्शी सेवा तथा एउटै मञ्चबाट कृषि सामग्रीहरूसम्म पहुँचका लागि एकिकृत मञ्च सिर्जना गरेको थियो।

कार्यक्रममा ताजाकी पञ्चायत सभापति दुर्गादेवी आचार्य अनि बिरिङ तारेथाङमा सञ्जना प्रधान लगायत सम्बन्धित पञ्चायत सदस्यहरू विशेष रूपमा उपस्थित थिए। भीकेएसए कार्यक्रमका लागि राज्य शीर्ष अधिकारी एवं अतिरिक्त निर्देशक डा. प्रताप सुब्बाले उपस्थित भेलालाई प्रेरक शब्दहरूद्वारा सम्बोधित गर्दै यस महाअभियानको अन्तिम दिनसम्म सहयोगको निम्ति सराहना गरे। केभीके, पूर्व सिक्किमका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा. प्रकाश शर्माले प्रभावी रूपमा जिल्ला कृषि, बागवानी, पशुपालन तथा मत्स्य पालन विभागका अधिकारीहरूको सहयोगमा कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षण एनआरसीओ, पाकिमका प्रधान वैज्ञानिक डा. एलसी डेको रहेको थियो, जसले सिक्किमको भीभागमा सतत बागवानी खेतीको नमूनाबारे आफ्नो परखज्ञान साझा गरे। शीर्ष ब्याङ्कका जिल्ला प्रबन्धक प्रदीप अहमदले कृषकहरूलाई केसीसीबारे विस्तारका साथ जानकारी दिए।

प्राविधिक सहयोग तथा संसाधन सुगमिकरण एडीओ गगन गुरुङ, एचडीओ सृजना गुरुङ, एडीएफ गौरी मुखिया, भीओ डा. युवराज शर्मा, कृषि निरीक्षक राजेन सुब्बा, बागवानी निरीक्षक सुमन शर्मा लगायत तृणमूल स्तरका अन्य विस्तारकर्मीहरूले प्रदान गरेका थिए।

एकिकृत कृषि प्रणाली, वैज्ञानिकतम बागवानी, जैविक खेती विधि, पशुधनको स्वास्थ्य तथा मत्स्य पालनका अवसरहरू विषयमा प्राविधिक सत्र आयोजित गरिएको थियो। कार्यक्रमको मुख्य विशेषता कृषकहरूलाई पीएम-किसान, पीएम फसल बीमा योजना, माटोको स्वास्थ्य कार्ड तथा केसीसी लगायतका प्रमुख सरकारी योजनाहरूमा नाम दर्ता गर्ने विषयमा शिक्षित गराउनु पनि रहेको थियो।

पाकिम खण्डमा भीकेएसए कार्यक्रम जागरूकता अभियानभन्दा अरू व्यापक रहँदै ज्ञान, नीति अनि जनमानसको उत्प्रेरक सम्मिलनको काम गरेको थियो। यस प्रकारको एकिकृत प्रयासले पूर्वी हिमालयमा प्रगतिशील अनि आत्मनिर्भर कृषि समुदायको बलियो जग बसालेको छ। समापन दिनको कार्यक्रम शुरुवात जति नै जीवन्त रहेको थियो जहाँ कृषकहरूको आशा र विस्तारकर्मीहरूको वचनले क्षेत्रको कृषिलाई अर्को स्तरसम्म पुऱ्याउने बलियो आशा जगाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande