बालासन खोलामा वनभोज खेल्न र नुहाउन कसैलाई पनि नगइदिने अनुरोध
बालासन खोलामा वनभोज खेल्न र नुहाउन कसैलाई पनि नगइदिने अनुरोध


खरसाङ, 13 जून (हि.स.)। खरसाङ खण्ड अन्तर्गत दुधे नजिकको बालासन खोलामा वनभोज खेल्न अथवा खोलामा नुहाउन कसैलाई पनि नगइदिने अनुरोध सन्त मेरिज तीन ग्राम पञ्चायतको प्रधान मणिराज डुम्जनले गरेका छन्। उनले यो बर्खाको मौसममा कुनै पनि समय खोलामा बाढी आउन सक्छ भन्दै टाडा नजिकबाट कोही पनि यहाँ वनभोज खेल्न आउँछन् भने खोलाको नजिकतिर गएर वनभोज नखेलिदिन तथा खोलामा पसेर पौडी नखेलिदिन अनुरोध गरेका छन्।

यस सन्दर्भमा मानिसहरूलाई सतर्क गराउन गत वर्ष पनि ग्राम पञ्चायतको पक्षबाट यहाँ सूचना पटहरू लगाउने कार्य भएको जनाउँदै यस वर्ष पनि यहाँ ग्राम पञ्चायतको तर्फबाट निगरानी राखिने जनाए। उनले दुधे क्षेत्र त्यसै पनि पर्यटकीय दृष्टिकोणले एउटा सुन्दर ठाउँ भएकाले यहाँ प्रायः वर्षभरि नै मानिसहरू वनभोज खेल्न तथा मनोरञ्जन गर्न आउँछन् भने।

डुम्जनले बर्खाको मौसमले गर्दा यहाँ कुनै पनि प्रकारको दुर्घटना घट्ने सम्भावनालाई मध्यनजर राखेर खोलाको नजिकमा वनभोज नखेल्न तथा खोलामा पसेर ननुहाउन आग्रह गरे। उनले वनभोज खेल्न आउनेहरूलाई खोलाभित्र पेय पदार्थ खाएर बोतलहरू नफ्याँकिदिन तथा क्षेत्रमा फोहोर नगरिदिन पनि अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande