गान्तोक, 14 जून (हि.स.)। मानव जाति र वन्य जन्तुबीचको द्वन्दलाई न्यूनीकरण गर्ने उद्देश्यले हिजो देवरालीस्थित वन विभागको प्रेक्षागृहमा प्रदर्शन साथै वितरण कार्यक्रम सम्पन्न भयो। वन्य एवम् पर्यावरण विभाग र वन्यजन्तु सर्कलको संयुक्त पहलमा आयोजित कार्यक्रममा विशेष गरेर मानव र बन्यजन्तुबीचको द्वन्दलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारेमा चर्चा परिचर्चा साथै प्रदर्शन गरियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आईएफएस उदय गुरूङले मानव-वन्यजन्तु द्वन्दलाई सम्बोधन गर्न आधुनिक प्रविधिलाई एकीकृत गर्ने महत्त्वमाथि जोड दिँदै सामुदायिक संलग्नताको आवश्यकतालाई प्रकाश पारे। उनले गाउँलेहरूमा चेतना जगाउनु र नियमित तालिम मार्फत अग्रपंक्तिका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नु महत्त्वपूर्ण रहेको बताए।
हिन्दुस्थान समाचार / प्रदीप