गान्तोक, 15 जून (हि.स.)। सिक्किम क्रिकेट एसोसिएशनको तत्वावधानमा आजदेखि स्नो लायन टी-20 लीग क्रिकेट प्रतियोगिता माइनिङको क्रिकेट खेल मैदानमा शुरू भयो। यस अवसरमा नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा विधायक इरूङ तेञ्जिङ लेप्चा उपस्थित थिए।
आजदेखि शुरू भएको यस प्रतियोगिताको फाइनल खेल आगामी 1 जुलाईको दिन हुने भएको छ। यस प्रतियोगितामा कूल आठवटा दलले सहभागिता जनाइरहेको छ, जसमा अल्पाइन स्पोर्टिङ क्लब, एभेञ्जर्स क्रिकेट क्लब, ब्ल्याक इगल्स, क्रिकेट एसोसिएशन अफ् ताथाङचेन, इराइसेस क्रिकेट क्लब, पाकिम एकादस, रोयल नर्थ ब्रदर्श र योक्सम क्यापिटल्स सामेल छन्।
यस प्रतियोगितामा प्रत्येक टोलीले सातवटा टोलीसँग खेल खेल्नु पर्नेछ। स्नो लायन टी-20 लीग क्रिकेट प्रतियोगिता अन्तर्गत 17 दिनमा कूल 33 वटा खेल खेलाइनेछ। यस प्रतियोगिता अन्तर्गत दुईवटा टोलीले सोझै सोमिफाइनलमा प्रवेश गर्ने अवसर प्रदान गरिने छ भने रहल चारवटा टोलीले क्वार्टर फाइनल खेल्ने छन्।
पत्रकारहरूसँग कुराकानी गर्दै विधायक खरेलले एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा क्रिकेट क्षेत्रमा धेरै विकास भएको बताए। राज्य सरकारको सहयोगमा हाल राज्यमा क्रिकेट खेल धेरै माथि पुगेको उनले दाबी गरे। उनले थप जानकारी गराए अनुसार, बीसीसीआईसँगै सिक्किम सरकारले पनि क्रिकेट खेललाई प्राथमिकता दिँदै पूर्वाधारको विकास निर्माण गर्नमा सहयोग पुऱ्याउँदै आएको छ।
सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टीका सुब्बाले पनि पत्रकारहरूलाई सम्बोधन गरेका थिए। आजको पहिलो खेल पाकिम एकादश बनाम रोयल नर्थ ब्रदर्शबीच सम्पन्न भएको थियो, जसमा रोयल नर्थ ब्रदर्श बिजयी बन्यो भने दोस्रो खेल इराइसेस सीसी बनाम ब्ल्याक इगल्सबीच सम्पन्न भएको थियो, जसमा इराइसेस सीसी बिजयी बन्यो।
हिन्दुस्थान समाचार / प्रदीप