- 1955 को घटनालाई लिएर क्रामाकपाले मार्गरेट्स होपमा श्रद्धाञ्जली सभा आयोजना गर्ने
सोनादा, 15 जून (हि.स.)। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) केन्द्रिय सचिव मण्डलीको सभा सोनादामा सम्पन्न भयो। उक्त सभा केन्द्रिय पार्टी अध्यक्ष जेबी राईको अध्यक्षता र पूर्व सांसद एवं क्रामाकपा केन्द्रिय परामर्श समितिका चेयरम्यान आरबी राईको विशेष उपस्थितिमा सम्पन्न भयो।
सभामा क्रामाकपा केन्द्रिय महासचिव नर्बू लामा, कार्यकारी अध्यक्ष बीएम राई, प्रवक्ता अरुण घतानी, उपाध्यक्ष अर्जुन थापा, संगठन प्रमुख शेखर छेत्री, दार्जिलिङ आञ्चलिक समितिको सचिव उद्धप खनाल लगायत अन्यहरु उपस्थित रहेका थिए। सभाले 1955 सालमा मार्गरेट्स होपमा भएको घटनालाई लिएर आगामी 25 जूनमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय लिएको छ। यसका साथै, डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषामा परीक्षा लेख्न नपाउने विषयमा चर्चा परिचर्चा गर्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भएको छ। पुनः सीमांकन कमिटी र सरकारलाई पत्रचार गर्ने र जातिगत जनगणनामा गोर्खाहरुको जनगणना विषयमा सबैलाई सचेत गराउने निर्णय लिएको छ।
सभापछि पत्रकारहरुसित कुराकानी गर्दै क्रामाकपा केन्द्रिय प्रवक्ता अरुण घतानीले सभामा दार्जिलिङ पहाडको चिया उद्योग ह्रास हुँदै गएको, चियाबारीहरु बन्द भइरहेको, श्रमिकहरुको अवस्था दयनीय बन्दै गइरहेको तथा श्रमिकहरुले चियाबारीमा मालिकाना हक नपाएको विषयमा चर्चा परिचर्चा गर्दै यस विषयमा क्रामाकपाको श्रमिक संगठनले लगातार रुपमा काम गरिरहेको विषयमा सभामा छलफल गरिएको जानकारी गराए। उनले 1955 को घटनालाई लिएर आगामी 25 जूनमा मार्गरेट्स होपमा हुने श्रद्धाञ्जली कार्यक्रममा सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुलाई उपस्थितिको लागि आह्वान् गरे।
उनले सभामा पश्चिम बंगालमा डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषामा परीक्षा लेख्न नपाउने विषयमा चर्चा परिचर्चा गरिएको बताउँदै नेपाली भाषा संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त रहेको भए पनि नेपाली भाषामा परीक्षा लेख्न नपाउनु अत्यन्तै जाति विरोधी नीति भनी विरोध जनाउँदै सरकारले यसप्रति काम गर्नु पर्ने माग गरेको बताए। प्रवक्ता घतानीले संसदीय क्षेत्र बढाउने सीमांकन विषयमा सभामा छलफल गरिएको र यस विषयमा पार्टीले सीमांकन कमिटी र सरकारलाई पत्रचार गर्ने निर्णय गरिएको बताए।
उनले जातिगत जनगणनाको विषयमा गोर्खाहरुलाई सचेत गराउने कार्य गर्ने अनि यसको लागि भारतीय गोर्खा परिसंघ जस्ता संस्थाहरुसित पनि सर सल्लाह गर्ने भएको बताएका छन्। उनले क्रामाकपाले एकमात्र माग छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा काम गरिरहेको र एकदिन अवश्य पनि गोर्खाहरुले न्याय पाउने कुरामा आशावादी रहेको पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक