गोरामुमो अध्यक्ष मन घिसिङले रेणुलिना सुब्बासॅंग कालेबुङमा भेट गरे
गोरामुमो अध्यक्ष मन घिसिङले रेणुलिना सुब्बासॅंग कालेबुङमा भेट गरे


कालेबुङ, 15 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङको अगुवाईमा आज पार्टीका शिर्षस्थ नेतृत्वहरूले पूर्व विधायिका रेणुलिना सुब्बालाई उनको वासस्थान सिन्देबुङ, कालेबुङमा भेट गरे। जीटीएद्वारा घोषणा गरेको प्रथम सुवास घिसिङ सर्वोच्च नागरिक सम्मान पुरस्कारको निम्ति चयन भएकोमा रेणुलिना सुब्बालाई गोरामुमो अध्यक्ष मन घिसिङले बधाई दिए।

यस भेट अवधि अध्यक्ष घिसिङ र रेणुलिना सुब्बाले विगतका दिनहरुको राजनीति विषयमा चर्चा परिचर्चा गरे। आफ्नो अनुभवहरु अध्यक्ष घिसिङलाई साझा गर्दै उनले यो पुरस्कार आफूलाई होइन, तर दाज्यु सुवास घिसिङको गोर्खा जातिप्रतिको योगदानको निम्ति समर्पित हो भनी बताइन्।

उनले आफूहरूले भिन्न-भिन्नै राजनीतिक सिद्धान्त अनि मत लिएको भए तापनि सर्वप्रथम हामी गोर्खा हौं र सुवास घिसिङले गोर्खा जातिको निम्ति ठूलो योगदान दिएर गएको बताइन्।

उनले भनिन्, वहाँ एउटा राजनीतिज्ञ मात्र नभएर एक दार्शनिक पनि थिए। गोर्खाहरुले भारतको प्रथम दर्जाको नागरिकता पाउनु उनको योगदान थियो। गोर्खाहरुलाई भारतीय राजनीतिक मुलधारामा ल्याएर भारत देशमा उभ्याउने वहाँनै हुन्। सुवास घिसिङ दाज्युले सबैलाई सम्मान व्यवहार गर्थे। वहाँको नेतृत्वमा पहाडमा चौतर्फी बिकासहरु भएका हुन्। उनले अध्यक्ष मन घिसिङलाई गोर्खा जातिको मुद्दालाई साकार बनाउनको निम्ति अग्रिम शुभकामना व्यक्त गरिन्।

सुब्बाले जीटीएद्वारा घोषणा गरेको सुवास घिसिङ सर्वोच्च नागरिक सम्मान पुस्कार दिइने पहलको निम्ति जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande