पाकिम, 15 जून (हि.स.)। आगामी अन्तरराष्ट्रिय योग दिवस 2025 लाई ध्यानमा राख्दै स्वास्थ्य एवं परिवार कल्याण विभाग, पाकिम जिल्लाले राष्ट्रिय आयुष मिशन अन्तर्गत योग सत्र आयोजन गऱ्यो। एक पृथ्वी, एक स्वास्थ्यको निम्ति योग विषयमा आयोजित योग सत्रले समग्र स्वास्थ्य र कल्याण प्राप्त गर्ने माध्यमको रूपमा योगको शाश्वत अभ्यासलाई प्रवर्द्धन गरेको थियो।
पाकिमको न्यू मार्केटको लक्ष्मी नारायण मन्दिर परिसरमा आज बिहान आयोजित योग सत्रमा न्यू मार्केट पाकिम विकास समिति र मन्दिर समितिका सदस्यहरू लगायत स्थानीय मानिसहरू सहभागी बनेका थिए। आयुष, पाकिम पीएचसीका चिकित्सा अधिकारी डा. कुलजन लामाले योग सत्र सञ्चालन गरेका थिए। डा. लामा र उनको टोलीले स्वास्थ्य, सद्भाव र समग्र कल्याणलाई बढावा दिने उद्देश्यले सहभागीहरूलाई योग अभ्यास गराए।
सहभागीहरूले यस पहलको सराहना गर्दै डा. कुलजन लामा र उनको टोलीप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले समुदायको कल्याणको निम्ति नियमित रूपमा योग सत्र आयोजन गर्न अनुरोध पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल