जलपाईगढ़ी, 15 जून (हि. स.)। भोरेर आलो थानाको पुलिसले मयनागुड़ीमा भएको एटीएम लुटको मामिलामा दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूलाई आइतवार बिहान सरस्वतीपुर जंगलबाट पक्राउ गरिएको हो। पक्रा पर्ने आरोपीहरूमा मोहम्मद शमशेर खान (45) र असलुप खान (55) सामेल छन्। शमशेर खान बिहार निवासी हो भने असलुप परियाणा निवासी रहेको बताइएको छ। आरोपीहरूबाट पुलिसले 15 लाख रुपियाँ पनि जफत गरेको छ।
उल्लेखनीय छ, गत शुक्रवार अबेर राति उपद्रवीहरूले मयनागुड़ीको बौलबाड़ी बजार नजिकै अवस्थित एक सरकारी ब्यांकको एटीएम काउन्टरलाई ग्यास कटरले काटेर लगभग 54 लाख रुपियाँ लुटेर भागेका थिए। पुलिसले डाकाहरूलाई लखेट्दै गएपछि डाकाहरू गाजोलडोबा संलग्न गेट बजार क्षेत्रदेखि बैकुण्ठपुर जंगलमा पसेका थिए। भाग्ने क्रममा उपद्रवीहरूले एउटा सेतो रंगको चार चक्के वाहनलाई जंगलभित्रै छोड़िराखेका थिए।
जलपाईगढ़ी जिल्ला पुलिसले बतायो, वाहनमा नक्कली नम्बर प्लेट टाँसिएको थियो। घटनापछि जलपाईगढ़ी जिल्ला पुलिस, सिलगढ़ी पुलिस अनि वन विभागको टीमले संयुक्त रूपमा बैकुण्ठपुर जंगलमा खोजी अभियान शुरू गऱ्यो। ड्रोन मार्फत जंगलमा खोजी अभियान संचालन गरियो। अन्ततः आइतवार बिहान पुलिसले लुटकाण्डमा सामेल दुईजना अपराधीहरूलाई पक्राउ गऱ्यो। अन्य आरोपीहरूलाई समात्नको लागि अभियान जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा