हुगली, 15 जून (हि.स.)। पश्चिम बंगालको हुगली जिल्लामा शनिवार बिहान भएको ट्रेन दुर्घटनापछि मानवताको अद्भुत उदाहरण सामु आएको छ। घटनामा गम्भीर रूपमा घाइते एकजना महिलाको ज्यान त्यसबेला बच्न सक्यो जतिबेला राजकुमार ठाकुर नामक युवकले कानुनी बाधाहरूको परवाह नगरी तत्परता देखाउँदै महिलालाई अस्पतालमा पुऱ्याए।
हिन्दुस्थान समाचार- सित विशेष बातचित गर्दै राजकुमारले आइतवार बिहान बताए, यो घटना शनिवार बिहान लगभग 9:30-10:00 बजेको बीचमा भएको हो। ट्रेनसित ठोक्किएपछि एकजना महिला रेलवे ट्र्याकमा गम्भीर रूपमा घाइते भएर लड़ेकी थिइन्।
महिलाको शरीर रगतपच्चे भएको थियो भने तिनी छटपटिरहेकी थिइन्। तिनीसित एकजना सानो नानी पनि थियो। घटनास्थलमा धेरैजना मानिसहरू थिए, तर कसैले पनि सहयोग गरेनन्। घाइतेलाई अस्पतालमा लगियो भने उनीहरूलाई पुलिसले दिक्क लगाउनसक्छ भन्ने मानिसहरूलाई लागेको थियो। यस्तो आशंकालाई परवाह नगरी राजकुमारले महिलालाई नानी सहित श्रीरामपुर वाल्श अस्पतालमा भर्ती गराए। सूचना पाएपछि जीआरपीको टीम घटनास्थलमा पुगेर राजकुमारसित जाँचबुझ गऱ्यो।
अस्पताल सूत्र अनुसार लगभग 30-35 वर्षकी घाइते महिलाको 38 सिलाई भएको छ। शनिवार अबेर राती उनको होश आयो, तर तिनी हाल बोल्ने स्थितिमा छैनन्। जीआरपी अधिकारीहरूको भनाइ छ, हाल महिलाको अवस्था स्थिर भएको छ र तिनी बिस्तारै स्वस्थ हुनेछन्।
राजकुमार ठाकुरले भने, “मानवताभन्दा ठूलो केही हुँदैन। यदि मलाई यसको लागि दिक्क लगाए पनि केही छैन, तर कसैलाई छट्पटेर मरिरहेको हेर्न सकिँदैनथ्यो।”
स्मरण गराइन्छ, सुप्रीम कोर्टले स्पष्ट रूपमा निर्देश दिएको छ कि दुर्घटनामा घाइते कुनै पनि व्यक्तिलाई अस्पताल पुऱ्याउनेलाई पुलिस अनि प्रशासनको पक्षबाट कुनै पनि प्रकारको कठिनाईमा पार्न मिल्दैन। तथापि पुलिस प्रशासनको व्यवहारको कारणले समाजमा आज पनि यस्तो डरको भावना कायम छ जसले मानिसहरूलाई पीड़ितहरूलाई सहयोग गर्नदेखि रोक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा