अनित थापाको सहयोगमा जीर्णावस्थामा रहेको घर निर्माणको लागि शिलान्यास
अनित थापाको सहयोगमा जीर्णावस्थामा रहेको घर निर्माणको लागि शिलान्यास


खरसाङ, 15 जून (हि.स.)। तीनधारे महानदी समष्टिको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको गुम्बाडाँडा निवासी लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि शिलान्यास गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको सहयोगमा जीर्णावस्थामा रहेको उक्त घरको निर्माण कार्य गरिने भएको छ।‌

सिविटार चियाबारीको गुम्बाडाँडा निवासी लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि आइतवार शिलान्यास गरियो। शिलान्यास कार्यक्रममा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई, बुथ कमिटीका सभापति राजेन्द्र प्रधान, सचिव सुमन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

पूजा अर्चनासहित भूमि पूजा गरेर उक्त नयाँ घर निर्माणको लागि शिलान्यास गरियो। स्थानीय लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि भागोप्रमो तीनधारे महानदी समष्टि र स्थानीय पञ्चायत सदस्य र पञ्चायत समितिको पहलमा जीटीए प्रमुख‌ अनित थापालाई गत महिना ज्ञापन पत्र बुझाएका थिए। यसपछि, जीटीए प्रमुख अनित थापाले‌ नयाँ घर निर्माणको लागि सर सामानहरु उपलब्ध गराइदिएका छन्।

नयाँ घरको निर्माणको लागि शिलान्यास कार्यपछि लाभार्थी लक्ष्मी यादवले जीटीए प्रमुख अनित थापा र स्थानीय पञ्चायत प्रतिनिधिहरु र पार्टी प्रतिनिधिहरुलाई धन्यवाद दिएकी छन्‌। महानदी ग्राम पञ्चायतका पञ्चायत सदस्य राजीव तामाङले भने, हामीले गत महिना जीटीए प्रमुख अनित थापालाई लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि ज्ञापन पत्र बुझाएका थियौँ। गत 10 जूनदेखि घरको लागि सर सामानहरु आउन थालेको थियो र आइतवार शिलान्यास गरेर नयाँ घर निर्माणको लागि कार्य थालिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande