तीन सन्तानकै अगाड़ि पत्नीको हत्या गरेर पति भाग्यो
तीन सन्तानकै अगाड़ि पत्नीको हत्या गरेर पति भाग्यो


मुर्शिदाबाद, 16 जून (हि. स.)। जिल्लाको सुती थाना अन्तर्गत अहिरन मठपाड़ा क्षेत्रमा एकजना व्यक्तिले आफ्ना तीन जना नानीहरूकै अगाड़ि आफ्नी पत्नीको गला रेटेर हत्या गरेपछि घटनास्थलबाट सुइँकुच्चा ठोक्यो। 'मृत महिलाको नाम रेशमी बीबी (22) हो। घटनाको जानकारी पाउनसाथ स्थानीय मानिसहरू घर सामु भेला भए। पुलिसले घटनाको जाँच शुरू गरेको छ। मोसिबुल शेखलाई समात्नको लागि ठाउँ-ठाउँमा छापा मारिरहेको छ।

प्राप्त जानकारी अनुसार मोसिबुल शेख र रेशमी बीबीको विवाह केही वर्षपूर्व भएको थियो। उनीहरूका तीन सन्तानहरू छन्। मोसिबुलले प्रवासी श्रमिकको रूपमा काम गर्दछ। त्यसैले अधिकांश समय नै घरदेखि बाहिर बस्छ। आइतवार राति मात्र उ आफ्नो घरमा आएको थियो। सोही राति पति-पत्नीमाझ झगड़ा भयो। आरोप छ, मोसिबुलले रेशमी बीबीमाथि हातपात गऱ्यो जसलाई देखेर नानीहरू डराए। बिहान फेरि पति-पत्नीमाझ झगड़ा शुरू भयो। यसैबेला कथित रूपमा मोसिबुलले रेशमी बीबीमाथि चक्कुले प्रहार गऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।

घटनालाई देखेर नानीहरू चिच्याउन थाले। पिताले कथित रूपमा उनीहरूलाई चुप लाग्ने नत्र ज्यान लिने धम्की दियो। त्यसपछि उ घरबाट भाग्यो। नानीहरूले छिमेकीलाई घटना बारे बताए। घरभित्र रेशमीलाई रगतपच्छे अवस्थामा देखेर क्षेत्रमा सन्त्राष फैलियो। स्थानीय मानिसहरूले पुलिसलाई सूचित गरे। घटनास्थलमा पुगेको अहिरन चौकीको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टम गर्नको लागि पठाइदियो।

सुती थानाका एकजना पुलिस अधिकारीले बताए, घटनाको जाँच शुरू गरिएको छ। आरोपीको खोजीमा ठाउँ-ठाउँमा जाँच गरिँदैछ। फोनको लोकेशन ट्रेस गरेर उसलाई पक्राउ गर्ने प्रयास गरिँदैछ।

मृत रेशमी बीबीकी बहिनी नूरबानु बीबीले बताइन्, पछिल्लो तीन महिनादेखिको फोनमा पारिवारिक विवाद भइरहेको थियो। त्यसैले मोसिबुल घरमा आउँदैनथ्यो। उसले पैसा पनि पठाउँदैनथ्यो। रेशमीले आफ्ना तीन जना सन्तानहरूको साथमा बिड़ी बनाउने काम गरेर जीवन धानिरहेकी थिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande