खरसाङ, 16 जून (हि.स.)। डा अम्बेडकर गाउँ ग्राम सुधार समिति शिव मन्दिर पाखा खरसाङको तत्वावधानमा सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा मुख्य अतिथिको रुपमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। उनलाई सम्मान गर्न हेतु उक्त सम्बर्द्धना कार्यक्रम आयोजन गरियो।
कार्यक्रममा विगत अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रीहरु अनि समाजका सदस्य स्वर्गीय अनुप राउतको आत्माले शान्ति पाउन् भनी एक मिनटकाे मौन धारण गरियो। समाजद्वारा गाँउका वरिष्ठ नागरिक काइली तामाङ अनि बुद्ध राउतलाई शल ओढाएर सम्मान गरियो।
डा अम्बेडकर गाउँ ग्राम सुधार समितिको तर्फबाट यस वर्ष माध्यमिक अनि आईसीएसईमा उत्तीर्ण भएका चारजना छात्र छात्रा ग्लेनहिल पब्लिक स्कूलकी साधना राउत, अनि सन्त अल्फन्स स्कूलका अमन हरि, अर्मान हरि, अनि दिपक हरिलाई खदा अनि स्मृति चिन्ह दिएर सम्मानित गरियो भने गाउँमा यस वर्ष सबैभन्दा अधिक अंक ल्याउने एलेक्स हरिलाई पनि प्रोत्साहन गर्दै स्मृति चिन्ह प्रदान गरियो।
कार्यक्रममा समाजकाे तर्फबाटट 28 नम्बर समष्टिका सभासद श्याम शेर्पालाई समाजप्रतिको योगदानकाे निम्ति समाजद्वारा आभार व्यक्त गर्दै सम्बर्द्धना जनाइयो। उनलाई खदार्पणसहित फूल गुच्छा, शल ओढाएर साथै सम्बर्द्धना पत्र प्रदान गरियो।
सभासद शेर्पाले आफ्नो सम्भाषणमा यस प्रकारको कार्यक्रमले आफूलाई भविष्यमा अझैं धेरै कार्य गर्न प्रोत्साहित गर्ने बताए। उनले विशेष रुपमा समाजले पढ्ने नानीहरूलाई सम्बर्द्धना गरेकोमा कार्यक्रममा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा यसरी नै यस भेगबाट पनि नानीहरू डब्ल्युबीसीएस, आईपीएस भएर निस्कनु सकोस् र अन्य खेलकूद संगीतको क्षेत्रमा पनि अघि बढेर जाओस् भन्ने शुभकामना राखे। उनले भविष्यमा यस समाजद्वारा गरिने कार्यक्रममा र समाजलाई आफ्नो तर्फबाट जे जति सहयोग चाहिन्छ आफ्नो क्षमता अनुसार गर्ने आश्वासन दिए।
कार्यक्रममा समिति अध्यक्ष मोहनकुमार राईले आफ्नो अध्यक्षीय सम्भाषणमा यस सम्बर्द्धना कार्यक्रममा मुख्य अतिथि श्याम शेर्पा अनि विभिन्न संस्थाबाट आएका सभापति सचिवलाई धन्यवाद दिए। उनले वर्तमानमा यस नवनिर्मित समाजलाई सञ्चालनमा भइरहेको समस्यासँग मुख्य अतिथि श्याम शेर्पालाई अवगत गराउँदै सहयोगकाे अपेक्षा व्यक्त गरे। कार्यक्रममा अम्बेडकर गाउँका नानीहरूले सामूहिक नृत्य, एकल नृत्य तथा गीत प्रस्तुत गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक