- जीटीएले थप 50 वटा नयाँ प्राथमिक पाठशाला भवनहरु बनाउनेछ: राजेस चौहानखरसाङ, 16 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको रोलक बस्तीमा रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवनको उद्घाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरेका छन्। उक्त कार्यक्रम दार्जिलिङ जिल्ला प्राथमिक शिक्षा बोर्डको अध्यक्ष तिलकचन्द्र रोकाले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहान, कार्यकारी सभासद रतन थापा, बिजयकुमार राई, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा र जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको उपस्थितिमा रोलक प्राथमिक पाठशालाको प्रधान अध्यापक टाँशी छिरिङ लेप्चाको बाहुलीबाट नवनिर्मित रोलक प्राथमिक पाठशालाको दुई तले भवनको उद्घाटन गरियो।
सन् 1957 सालमा स्थापना भएको रोलक प्राथमिक पाठशालाले सन् 1964 मा पूर्ण पाठशालाको दर्जा प्राप्त गरेको थियो। रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवन जीटीएको शिक्षा विभागबाट लगभग 68 लाख रुपियाँको खर्चमा निर्माण गरिएको हो। कार्यक्रममा पाठशाला सञ्चालन समितिको तर्फबाट जीटीए प्रमुख अनित थापा, प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहानलाई खदार्पणसहित शल ओढाएर सम्बर्द्धना जनाइयो। रोलक प्राथमिक पाठशालामा अहिले पाँचौं श्रेणीसम्म पढाई चलिरेको छ भने अहिले 50 जना विद्यार्थी अध्ययनरत छन्।
यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहानले जीटीए क्षेत्रको प्राथमिक शिक्षा स्तरलाई माथि उठाउन र प्राथमिक शिक्षालाई गुणस्तरीय बनाउन लगातार रुपमा कार्य गरिरहेको बताए। उनले जीटीए क्षेत्रमा रहेको विभिन्न कमान बस्तीका 50 वटा जति प्राथमिक पाठशालाहरुलाई चिन्हित गरेर जीर्णोद्धार कार्य गरिने पनि बताए।
पत्रकारहरुसित कुराकानी गर्दै रोलक प्राथमिक पाठशालाका प्रधान अध्यापक टाँशी छिरिङ लेप्चाले जीटीएको तर्फबाट रोलक प्राथमिक पाठशालाको दुई तले भवनको निर्माणपछि उद्घाटन गरिएकोमा खुशी व्यक्त गर्दै जीटीए प्रमुख अनित थापालए र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानलाई धन्यवाद दिए। उनले यस प्राथमिक पाठशालामा अहिले पाँचौं श्रेणीसम्मको पढाई चलिरहेको र जम्मा 50 जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक