गान्तोक, 16 जून (हि.स.)। सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्षगॉंठ मनाउन आज राजधानीमा 'गोल्डन जुब्ली हाई-अल्टीट्यूड म्याराथन 2025' आयोजन गऱ्यो। म्याराथनको आयोजना राज्य खेलकुद एवं युवा मामिला विभागको अगुवाईमा र राज्य सामाजिक कल्याण तथा राज्य वाणिज्य एवं उद्योग विभागको सहयोगमा गरिएको थियो।
42 किलोमिटरको दौड प्रसिद्ध पर्यटक गन्तव्य छाङ्गु झील परिसरबाट शुरू भएको थियो भने राजधानीको रिज पार्कमा आइपुगेर समापन भयो। यस दौड प्रतियोगितामा कूल 520 जनाले पञ्जीकरण गराएका थिए भने 348 जना सहभागी बने। यसमा 265 पुरुष र 83 जना महिला सामेल छन्। केन्या, इथियोपिया र नेपालबाट 25 जना अन्तरराष्ट्रिय धावकहरूले पनि दौडमा भाग लिएका थिए।
छाङ्गु झील परिसरमा ब्रिगेडियर अमृत शर्माले स्थानीय पञ्चायत सदस्यहरू र खेलकुद एवं युवा मामिला विभागका अधिकारीहरूको उपस्थितिमा म्याराथनलाई झण्डा हल्लाएर शुरुवात गरे। यसैगरी, रिज पार्कमा आयोजित मेडल सम्मान समारोहमा सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए। उनीसॅंगै गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा र विधायक तेन्जिङ नर्बु नाम्था विशिष्ट अतिथि थिए।
यस दौड प्रतियोगिताको पुरुष वर्गमा केन्याका जुलिग्स एम. वाहोम प्रथम, सिक्किमका गङ्गाहाङ सुब्बा दोस्रो र इथियोपियाका फिरमोसा अरारसा तेस्रो भए, जसलाई पुरस्कार स्वरूप क्रमश: 3 लाख 50 हजार, 2 लाख र 1 लाख रूपियॉं प्रदान गरियो। यस अतिरिक्त, कालेबुङका विकास भुजेल र प्रबल छेत्री, दार्जिलिङका सुरज थामी र प्रवेश तामाङ तथा केन्याका जोन इरिम केलाईलाई सान्तवना पुरस्कार स्वरूप 20-20 हजार रूपियॉं प्रदान गरियो।
यसरी नै महिला वर्गमा उत्तर प्रदेशकी ताम्सी सिंह प्रथम, सिक्किमकी चन्द्रकला शर्मा दोस्रो र इथियोपियाकी अबेरू गेमेछु तेस्रो भइन्। धावकहरूलाई क्रमश: 3 लाख 50 हजार, 2 लाख र 1 लाख रूपियॉं प्रदान गरियो। यसरी नै सिक्किमकी अन्जुली सुब्बा, कालेबुङकी सरस्वती राई, दिल्लीकी रोजी र दार्जिलिङका बन्धना सुब्बा र श्रुति सुब्बालाई सान्तवना पुरस्कार स्वरूप 20-20 हजार रूपियॉं प्रदान गरियो।
राज्य खेलकुद एवं युवा मामिला विभागकी सचिव याङ्गछेन डी. तामाङले 'गोल्डन जुब्ली हाई-अल्टीट्यूड म्याराथन 2025' राज्यको खेलकुद क्यालेन्डरमा एक प्रमुख वार्षिक कार्यक्रम बन्ने परिकल्पना गरिएको बताइन्, जसले पाँच दशकको प्रगति र गौरवको उत्सव मनाउँदै सिक्किमलाई विश्वव्यापी म्याराथन सर्किटमा दृढतापूर्वक स्थान दिनेछ।
हिन्दुस्थान समाचार / बिशाल