सोनादा, 17 जून (हि.स.)। आशारिका फाउण्डेशनद्वारा बोन टीबी पीडित स्नेहा छेत्रीलाई आर्थिक सहायता प्रदान गरेको छ भने सहयोगको लागि अपील पनि गरेको छ। आशारिका फाउण्डेशनले रङमुक चियाबगान अन्तर्गत चन्द्रमान धुरामा बसोबास गर्ने 18 वर्षीया पीडित स्नेहालाई 6 हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ।
स्नेहाको अवस्था गम्भीर रहेको र उपचार खर्च अभावले पीडित परिवार ठूलो संकटमा परेको भन्दै फाउण्डेशनले सहयोगको हात अघि बढाएको हो। स्नेहालाई हाल उनकी आमाले स्याहार गरिरहेकी छन्, जो विगतमा रङमुक चियाबगानमा पत्ती टिप्ने काम गर्थिन्। तर, चियाबगान लामो समयदेखि बन्द हुँदा आमासँग छोरीको उपचार खर्च जुटाउने कुनै साधन छैन। स्नेहाको उपचारमा लगभग 8 देखि 9 लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ।
यति ठूलो रकम बन्द चियाबगानमा कार्यरत श्रमिक परिवारका लागि जुटाउन अत्यन्त कठिन छ। यही परिस्थितिलाई मध्यनजर गर्दै आशारिका फाउण्डेशनले स्नेहाको लागि सहयोग अभियानको थालनी गरेको छ। फाउण्डेशनले सबै दयालु मन भएका व्यक्ति, सामाजिक संघ-संस्था तथा समुदायलाई स्नेहाको उपचारमा सक्दो सहयोग गर्न हार्दिक अपील गरेको छ।
“एक सानो सहयोगले एक जीवन बचाउन सकिन्छ,” फाउण्डेशनले अपल गर्दै भनेको छ। सहयोग गर्न चाहने महानुभावहरूले आशारिका फाउण्डेशनसँग सिधा सम्पर्क गरी आफ्नो सहयोग प्रदान गर्न सक्ने बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक