- सभासद रतन थापा अनि समाजसेवक बिक्रम राईद्वारा आर्थिक सहयोग प्रदान
खरसाङ, 17 जून (हि.स.)। मङपू रेसेप ग्राम पञ्चायत अन्तर्गत दीपक टोल निवासी अनुराग गुरुङको घर जलेर खरानी भएको छ। आगलागी भएको घटना सुन्नसाथ मङपू पुलिस दल घटना स्थलमा पुगेर जाँच बुझ गर्दा सर्ट सर्किटको कारण उक्त घर आगलागी भएको हुनसक्ने सम्भावना व्यक्त गरिएको छ।
स्व दिवस गुरुङको छोरा अनुराग गुरुङ अनि उनको माता तनु गुरुङ मात्र त्यस घरमा बस्दै आइरहेका थिए भने घरमा आगलागी भएको समय दुई जना नै घरदेखि बाहिर रहेको पुलिसले बताएको छ। तनु गुरुङ सिन्कोना बगानका श्रमिक रहेको अनि उनको काठको घर रातिको समय जलेर खरानी भएको बताइएको छ। घरबाट कुनै पनि सरसमान निकाल्न सकिएन।
आगलागी भएको घटना स्थलमा मंगलवार बिहान जीटीए सिन्कोना विभाग एवं क्षेत्रीय सभासद रतन थापा सिन्कोना श्रमिक पीडित तनु गुरुङको घरमा पुगेर भेट गर्दै उनलाई आर्थिक सहयोग प्रदान गरे। उनले सिन्कोना विभागका अधिकारीहरुसित बातचीत गर्दै चॉंडै नै उनको घर विभागीय तौरमा निर्माण गरिदिने वचन दिएका छन्।
यसरी रेसेप ग्राम पञ्चायत प्रधान पुष्कर सिङ्गर अनि पञ्चायत सदस्य राजीव तामाङ पनि पीडितको घरमा पुगेर पञ्चायत व्यवस्थाबाट हुनसक्ने सहयोग गर्ने वचन दिएका छन्। सभासद रतन थापाको साथमा भागोप्रमो ट्रेड युनियन, सिन्कोना प्लन्टेशन वर्कर्स लेवर युनियन केन्द्रिय समिति सद्श्य गगन राई अनि मङपू जोनल सचिव सुजम छेत्री पीडित परिवारको घरमा पुगेर सिन्कोना बगान ब्यावस्थापनबाट सहयोगको निम्ति चॉंडै पहल गरिदिने भएको बताइएको छ।
अर्कोतिर सिटोङका समाजसेवक बिक्रम राईद्वारा अग्नीपीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। अग्नि पीडित तनु गुरुङलाई आर्थिक सहयोग प्रदान गर्दै बिक्रम राईले आगामी दिनमा पनि कुनै प्रकारको सहयोग चाहिएमा सहयोगगर्ने वचन दिएका छन्। यसरी नै सिन्कोना बगान व्यवस्थापनको पक्षबाट पीडित श्रमिक तनु गुरुङलाई भाँडाकुडा अनि कम्बल आदि व्यवस्थापक कार्यलयका बडाबाबुमार्फत प्रदान गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक