गान्तोक, 17 जून (हि.स.)। सिक्किमका पूर्व सांसदहरूको मञ्चले राज्य विधानसभामा नेपाली सीट पुनर्स्थापनाको माग उठाएको छ। मञ्चले देशका प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सिक्किमका नेपाली सब्जेक्ट धारकहरूलाई छोग्यालले प्रदान गरेको आरक्षण पुनर्स्थापनाको अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको छ।
मञ्चका सदस्य तथा पूर्व लोकसभा सांसद नकुल दास राईले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएका छन्। उनले हालैमा प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र प्रेषित गरेर सिक्किमका नेपाली समुदायको हित रक्षा र कल्याणको लागि अनुरोध गरिएको जानकारी गराएका छन्। पूर्व सांसद राईले सिक्किम सब्जेक्ट रेगुलेशन 1961 अन्तर्गत सिक्किम सब्जेक्ट रेजिस्टरको सूची अनुसार सिक्किमका नेपाली समुदाय छोग्यालको सब्जेक्ट रहेको उल्लेख गरेका छन्, जुन 26 अप्रेल, 1975 मा भारतीय नागरिक बन्ने मुख्य आधार बन्यो।
यस अघि मञ्चले सिक्किमका राज्यपाल र मुख्यमन्त्रीलाई पनि राज्य विधानसभामा नेपाली सीट पुनर्स्थापनाको अनुरोध गर्दै ज्ञापन बुझाएको जानकारी गराएको छ। उक्त ज्ञापनको प्रति केन्द्रिय गृहमन्त्री अमित शाहलाई पनि पठाएको पूर्व सांसद राईले बताएका छन्।
मञ्चले सिक्किम जस्तो संवेदनशील सीमा राज्यमा शंकास्पद राष्ट्रियता भएका व्यक्तिहरूलाई प्रवेश गर्न, काम गर्न र बासोबास गर्न दिनु गहिरो चिन्ताको विषय रहेको बताउॅंदै राज्य सरकारको ध्यान आकर्षित गराइरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल