मयनागुड़ी एटीएम लुटकाण्डका चौथो आरोपी पक्राउ
मयनागुड़ी एटीएम लुटकाण्डका चौथो आरोपी पक्राउ


जलपाईगढ़ी, 17 जून (हि.स.)। पश्चिम बंगालको जलपाईगढ़ी जिल्ला अधिनस्थ मयनागुड़ी बौलबाड़ी क्षेत्रमा भएको एटीएम लुटकाण्डमा पुलिसले चौथो आरोपीलाई पनि पक्राउ गरेको छ भने पाँचौ आरोपीको गहन खोजी जारी छ। पक्रा पर्ने उपद्रवीको पहिचान हरियाणा निवासी नरेश कोहलीको रूपमा भएको छ। सम्पूर्ण लुटकाण्डमा नरेशको महत्वपूर्ण भूमिका रहेको जाँच टीमको मान्यता छ।

गए सोमवार अबेर राति सिलगढ़ी मेट्रोपोलिन पुलिसको भोरेर आलो थाना अन्तर्गत भाटपाड़ा क्षेत्रबाट चौथो आरोपीलाई पक्राउ गरिएको छ। पक्राउपछि आरोपी नरेशलाई मयनागुड़ी थानामा सुम्पिइएको छ जहाँ उसित गहन जाँचबुझ भइरहेको छ।

उल्लेख्य, गत शुक्रवार अबेर राति उपद्रवीहरूले मयनागुड़ीको बौलबाड़ी बजार नजिकै अवस्थित एक सरकारी ब्यांकको एटीएम काउण्टरलाई ग्यास कटरले काटेर लगभग 54 लाख रुपियाँ चोरेर भागेका थिए। भाग्दै गर्दा पुलिसले पछ्याएको कारणले चोरहरू गाजोलडोबा संलग्न गेट बजार क्षेत्रदेखि बैकुण्ठपुर जंगलमा पसेका थिए। भाग्ने क्रममा यिनीहरूले सेतो रंगको कारलाई जंगलमा छोड़ेका थिए।

जलपाईगढ़ी जिल्ला पुलिसले बतायो, वाहनमा नक्कली नम्बर प्लेट टाँसिएको थियो। घटनापछि जलपाईगढ़ी जिल्ला पुलिस, सिलगढ़ी मेट्रोपोलिटन पुलिस तथा वन विभागको संयुक्त टीमले बैकुण्ठपुर जंगलमा खोजी अभियान शुरू गऱ्यो। ड्रोनको सहयोगमा जंगलमा खोजी अभियान संचालन गरियो। गत आइतवार बिहान पुलिसले दुईजना आरोपीहरूलाई पक्राउ गरेको थियो भने त्यै साँझ थप एकजना आरोपीलाई समातिएको थियो। अब सोमवार अबेर साँझ अर्को चौथो आरोपीलाई पक्राउ गरेको छ। पुलिसले अहिलेसम्ममा 15 लाख 48 हजार रुपियाँ जफत गरिसकेको छ। जाँचमा थाहा लागे अनुसार गिरोहमा पाँच जना उपद्रवीहरू सामेल थिए। पुलिसले अब पाँचौ उपद्रवीलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande