आसनसोल, 17 जून (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026- को विधानसभा चुनाउपूर्व तृणमूल कंग्रेसभित्र गुटबाजी रहेको कुरा खुलेर अगाड़ि आइरहेको छ। पार्टीका वरिष्ठ नेता तथा राज्य महासचिव वी. शिवदासनले पश्चिम बर्धमान जिल्ला अध्यक्ष तथा पाण्डेश्वरबाट विधायक नरेन्द्रनाथ चक्रवर्तीमाथि भारतीय जनता पार्टी (भाजपा)-सित गुप्त साँठगाँठ राखेको आरोप लगाएका छन्।
मंगलवार शिवदासनले फेसबुक लाइभको माध्यमबाट चक्रवर्तीमाथि सोझो हमला गर्दै भने, उनले विपक्षका नेता शुभेन्दु अधिकारीसित मिलेर पार्टीलाई नोक्सान पुऱ्याइरहेका छन् साथै आगामी वर्ष 2026-को चुनाउमा भाजपाको टिकट पाउनको लागि प्रयासरत छन्।
शिवदासनले आरोप लगाए, नरेन्द्रनाथ चक्रवर्तीले भाजपासित मिलेर पार्टीको जरालाई कमजोर बनाइरहेका छन्। उनी गोप्य रूपमा शुभेन्दु अधिकारीको सम्पर्कमा छन् र भाजपाबाट टिकट पाउनको लागि सौदाबाजी गरिरहेका छन्। यो पार्टीको लागि विनाशकारी हो। शिवदासनले चक्रवर्तीलाई अहंकारी औ स्वार्थी बताउँदै उनको संगठनात्मक भूमिकामाथि पनि प्रश्न उठाए। उनले भने, यस्ता व्यक्तिसित जिल्ला अध्यक्ष बन्ने कुनै योग्यता छैन।
वी. शिवदासनले टीएमसीका राज्य महासचिव मात्र नभेर जिल्ला परिषदमा ‘मेन्टर’-को भूमिका पनि निर्वाह गरिरहेका छन्। पूर्वमा कंग्रेसमा रहेका शिवदासनलाई अब तृणमूलको एकजना वरिष्ठ रणनीतिकार मानिन्छ। त्यसैले उनका आरोपहरूले टीएमसीभित्रको फाँटोलाई सार्वजनिक गरिदिएको छ।
यस सम्पूर्ण विवादमा भाजपाले पनि प्रतिक्रिया व्यक्त गरेको छ। भाजपा नेता जितेन्द्रनाथ तिवारीले भनेका छन्, पार्टीको स्पष्ट नीति छ कि नरेन्द्रनाथ चक्रवर्ती जस्ता भ्रष्ट अनि अत्याचारी नेताको निम्ति भाजपामा कुनै स्थान छैन। तथापि नरेन्द्रनाथ चक्रवर्तीले भने यस मामिलामा अहिलेसम्म कुनै प्रकारको सार्वजनिक टिप्पणी गरेका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा