खरसाङ, 02 जून (हि.स.)। अखिल भारतीय नेवार संगठनको सभा आज खरसाङको भीमेश्वर मन्दिर परिसरमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता इन्द्रनारायण प्रधानले गरेका थिए। सभामा अखिल भारतीय नेवार संगठनको केन्द्रिय अध्यक्ष एसएन प्रधान, महासचिव श्याम प्रधान र सांस्कृतिक महासचिव उत्तम प्रधान पनि उपस्थित रहेका थिए।
सभाको मुख्य उद्देश्य अखिल भारतीय नेवार संगठनको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिनु रहेको थियो। यसका साथै, आगामी 17 र 18 जूनको दिन दार्जिलिङमा हुने अखिल भारतीय नेवार संगठनको केन्द्रिय महाधिवेशनलाई लिएर चर्चा परिचर्चा गरिनु रहेको जानकारी प्राप्त भएको छ।
दार्जिलिङको चौरास्तामा नेवार संगठनको वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको जानकारी सभामा गराइएको छ।उक्त महाधिवेशनमा भारतभरिका नेवार संगठनका प्रतिनिधिहरुको उपस्थिति रहनेछ। यस क्रममा ऱ्याली पनि आयोजना गरिने बताइएको छ।
उक्त दुई दिनको कार्यक्रममा खरसाङबाट पनि उपस्थिति दिनु पर्ने विषयमा छलफल गरियो। दुई दिवसीय महाधिवेशनमा नेवार जातिका शिक्षित व्यक्तिहरु साथै पीएचडी गर्नेहरु, इञ्जिनियरहरु र अखिल भारतीय नेवार संगठनको लागि कार्य गर्ने संस्थापक सदस्यहरुलाई सम्मान जनाइने कार्यक्रम रहेको बताइएको छ।
सभामा खरसाङ नगरपालिका क्षेत्र र वरिपरिका स्थानहरु लगायत तीनधारे, रोहिणी, अम्बटे, सन्त मेरिज साथै विभिन्न स्थानहरुबाट नेवार संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक