गान्तोक, 02 जून (हि.स.)। सिक्किम सरकारले मंगन जिल्लामा अविरल वर्षाका कारण भएको क्षतिलाई आधिकारिक रूपमा 'आपदा' घोषणा गरेको छ। सिक्किम सरकारले आज एउटा अधिसूचना जारी गरेर अविरल वर्षाले पुऱ्याएको क्षतिलाई आपदा घोषणा गरेको छ।
अधिसूचनामा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका अध्यक्षको अनुमोदन र राज्य कार्यकारी समितिको सिफारिशमा मंगन जिल्लामा गत 28 मईदेखि अविरल वर्षाका कारण भएको क्षतिलाई आपादा प्रबन्धन अधिनियम, 2005 को धारा 22(2)(बी) अन्तर्गत आधिकारिक रूपमा आपदा घोषणा गरिएको उल्लेख छ।
उल्लेखनीय छ, अविरल वर्षाका कारण उत्तर सिक्किमको सामान्य जनजीवन अस्त व्यस्त बनेको छ। उत्तर सिक्किमलाई जोड्ने मुख्य मार्ग लगायत ठूला साना मार्गहरू पैह्रोको चपेटमा परेका छन्। गत 29 मई राति वाहन दुर्घटनामा परेर बेपत्ता बनेका पर्यटकहरूको खोज एवं उद्धार कार्य पनि प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ।
यसैगरी, 1 जून राति छातेनमा सेनाको छाउनी पनि पैह्रोको चपेटमा परेको छ। पैह्रोमा दबिएर भारतीय सेनाका तीन जवानको बलिदान भएको छ भने 6 जना बेपत्ता बनेका छन्।
हिन्दुस्थान समाचार / बिशाल