गान्तोक, 02 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले एसकेएम सरकारलाई दोस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक शुभकामना प्रकट गरेको छ। अर्कोतिर, सीएपीले एसकेएम पार्टी सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको दृश्य सिक्किमका आम जनताले विगत एक वर्षमा प्रत्यक्ष महसुस गरेको बताएको छ।
सीएपी महासचिव (संगठन) प्रकाश पराजुलीले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, अस्पतालको शौचालयमा पानी छैन। वृद्ध भत्ता महिनौं रोकिएका छन्। चुङ्थाङको टिस्टा फेरि उर्लेर लान खोजिरहेको छ, किनकि सन् 2023 को जलप्रलयपछिको पुनर्संरचना केवल फोटो खिच्ने प्रयोजनका लागि गरिएको थियो। 'आत्माहत्या' देशमै पहिलो राज्य बन्दैछ।
उनले अझ भने, सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्छ, तर औषधि छैन। ‘सरकारको विरुद्ध बोल्ने’ भनेको अपराध बनेको छ। राज्यले अभिव्यक्तिको स्वतन्त्रतालाई कपडाबाट लपेटेर स्यालको आहारा बनाइसकेको छ। प्रश्न गर्ने मान्छेहरू “पार्टीको विरोधी” घोषित हुन्छन्। सीएपीले सत्ता जनताको सेवाकालागि हो, झूटको चट्टानी संरचना बनाउन होइन भनी बताएको छ।
जुन सरकार अस्पतालमा पानी, बुढाबुढीलाई भत्ता, र कामदारलाई मजदुरी दिन सक्दैन, त्यो सरकारको भाषण केवल सस्तो नाटक हो भनी सीएपीले ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, जनताको मौनता कहिल्यै स्थायी हुँदैन। जसरी टिस्टाले समय–समयमा आफ्नो स्वरूप देखाउँछ, जनताको आवाज पनि अन्ततः बग्नेछ, पर्खाल होस् वा सत्ताको गद्दी, त्यसलाई चिर्दै।
हिन्दुस्थान समाचार / बिशाल