गान्तोक, 22 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको पाकिम जिल्ला कार्यकारिणी परिषदको एक महत्वपूर्ण संगठनात्मक सभा रम्फूस्थित पार्टी सर्कल कार्यालयमा सम्पन्न भयो। पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा आयोजित उक्त सभामा पार्टीको राज्यस्तरीय परिषद्का सदस्यहरू, जिल्ला र सर्कल तहका पदाधिकारीहरू, साथै विभिन्न यूवीसीबाट आएका समर्पित कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा संगठन उपाध्यक्ष किरण जिम्माले कार्यकर्ताहरूलाई आ-आफ्नो संगठनात्मक भूमिकालाई जिम्मेवार ढंगले वहन गर्न आग्रह गर्दै पार्टीको सन्देश जन–जनसम्म पुर्याउने कार्यमा समर्पणपूर्वक जुट्न प्रेरित गरे। उनले संगठनलाई जनतामैत्री र जनअपेक्षाअनुकूल बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सांगठनिक अभ्यासमा निरन्तर गतिशीलता कायम राख्न जोड दिए।
सभामा संगठन सचिव प्रकाश पराजुली, नरेन्द्र अधिकारी, तथा महिला परिषद् संयोजिका सुमति छेत्रीले क्रमशः संगठन सुदृढीकरण, कार्यशैलीमा पारदर्शिता, र कार्यकर्ताको मनोबल वृद्धिको विषयमा महत्वपूर्ण धारणा प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा पाकिम पाक्योङ जिल्लाभित्र रहेका सबै समष्टिहरूको भौगोलिक चुनौती, संगठनात्मक जालो र जनसम्पर्क सञ्जालका विषयमा गहिरो छलफल भयो। सहभागी कार्यकर्ताहरूले स्थानीय अनुभव साझा गर्दै संगठनलाई बलियो बनाउने ठोस सुझाउहरू प्रस्तुत गरे।
कार्यक्रमको समापनमा पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला तथा समन्वय) भूषण अधिकारीले सभामा व्यक्त गरिएका विचार र सल्लाहहरूलाई समेट्दै भने, 'यो सभा कुनै व्यक्तिविशेष वा राजनीतिक दलको विरोधमा होइन, पार्टीलाई अनुशासित, सशक्त र 2029 को आम निर्वाचनसम्म विजयी यात्रामा अग्रसर गराउने साझा उद्देश्यमा केन्द्रित हो।' उनले सबै सहभागीप्रति आभार व्यक्त गर्दै संगठनात्मक एकता र उद्देश्यप्रति सबै कार्यकर्ता प्रतिबद्ध रहनु पर्ने स्पष्ट सन्देश दिए।
हिन्दुस्थान समाचार / बिशाल