खरसाङ, 22 जून (हि.स.)। खरसाङ क्षेत्रका विभिन्न धरोहर स्थानहरुलाई प्रमोट गर्न तथा यहाँका धरोहरहरूलाई पर्यटकहरुमाझ चिनाउन र यसमार्फत् पर्यटनलाई अघि बढाएर लैजाने उद्देश्य लिएर आजदेखि खरसाङ हेरिटेज वक शुरु गरिएको छ। खरसाङ हेरिटेज वर्कको आयोजना खरसाङ हेरिटेज वक टिमको आयोजनामा खरसाङको रेलवे स्टेशनदेखि शुरु गरियो।
खरसाङ हेरिटेज वर्क खरसाङको महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकको सुझाउमा शुरु गरिएको बताइएको छ। खरसाङ आउने पर्यटकहरुलाई यस क्षेत्रका विभिन्न धरोहर स्थानहरु चिनाउने उद्देश्यले यो पहल शुरु गरिएको छ। पहिलो दिन सम्पन्न खरसाङ हेरिटेज वकमा पर्यटकहरुलाई खरसाङ रेलवे स्टेशन, खरसाङको एउटा पुरानो चर्च सन्त एन्ड्र्यु चर्च, आकाशवाणी खरसाङ देखाएर चिनाउने काम गरियो।
त्यसरी नै खरसाङ महकुमा शासकको कार्यालय, खरसाङको पुरानो शमसान घाट र स्प्रिङ साइडको चिया बगानको कारखाना आदि भ्रमण गराइएको छ। यस कारखानामा विशेष गरेर चियापत्ति कसरी बनाइन्छ भन्ने विषयमा पनि पर्यटकहरुलाई प्रदर्शित गरिएको थियो।
आज पहिलो दिनको खरसाङ हेरिटेज वकमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह साथै खरसाङ हेरिटेज वक टिमका सदस्यहरु मुख्य लिडर अमीत थापा, सहायक दिपराज पराजुली, संयोजक ऋषि प्रधान र विधान गुरुङ पनि उपस्थित रहेका थिए।
पहिलो दिनको हेरिटेज वकमा बंगाल र गुजरात गरेर 15 देखि 20 जना पर्यटकहरु उपस्थित रहेको जानकारी संयोजक ऋषि प्रधानले गराएका छन्। उनले यो खरसाङ हेरिटेज वक हप्तामा एकपल्ट निरन्तर रुपमा हुने बताए। उनले यसको सुझाउ खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले दिएको बताउँदै अब आगामी दिनमा फेरि खरसाङ क्षेत्रमा रहेका अन्य विभिन्न धरोहर स्थलहरु चिनाउन र पर्यटनलाई बढावा दिन निरन्तर गरिने बताए।
हिन्दुस्थान समाचार / हनोक