कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन्
कोमल चामलिङ


— पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

गान्तोक, 22 जून (हि.स.)। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङकी छोरी कोमल चामलिङले उनी अब स​क्रिय रूपमा सिक्किमको राजनीतिमा अघि आइरहेको घोषणा गरेकी छिन्। राजधानीको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आज आयोजित पार्टीको 33औं सम्पूर्ण क्रान्ति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेकी हुन्।

कोमल चामलिङले आफ्नो सम्बोधनमा एसडीएफ पार्टी 25 वर्षसम्म सरकारमा छॅंदा आफूलगायत आफ्नो परिवारका कुनै पनि सदस्य राजनीतिमा नआएको बताइन्। उनले राजनीति त टाडाको कुरा, एसडीएफ भवनसमेत 2019 भन्दा अघि कहिल्यै पाइला नटेकेको दाबी गरिन्। उनले भनिन्, 'आज म खुल्लारूपमा सिक्किमको राजनीतिमा आएकी छु।'

उनले आफूलगायत आफू जस्ता युवाहरू राजनीतिमा किन आउनु पऱ्यो भन्ने स्पष्ट गर्दै एसडीएफ पार्टीले हजारौं नेताहरू जन्माएको र वर्तमान मुख्यमन्त्रीलाई पनि एसडीएफले नै जन्माएको हो भनी बताइन्। तर, आज सारो गाह्रो पर्दा पार्टीलाई साथ र समर्थन दिन नेताहरू नरहेको उनले आशय व्यक्त गरिन्। उनले पार्टीका नेताहरू पार्टीको सिद्धान्तमा अडिग बस्नु नसक्दा आफूहरू अघि आउनु परेको बताइन्।

एसडीएफ नेतृ चामलिङले सिक्किम विरोधी, जनता विरोधी, गरीब विरोधी सिस्टमको विरोधमा लड्न हामी तयार छौं भनी घोषणा गरिन्। उनले आरोप लगाउॅंदै भनिन्, 'जनताले आज आफ्नो निम्ति बोल्ने क्षमता गुमाइसकेका छन्। जनताले त बोल्न सकेन, तर सरकारले पनि आफू र जनताको निम्ति बोल्न सकेको छैन।'

उनले वर्तमान सरकारमा सबै शक्ति केन्द्रीकृत भएको आरोप लगाउॅंदै अब एसडीएफका युवाहरूले त्यो शक्तिलाई मिन्तोकगाङबाट खोसेर फेरि जनतामा विकेन्द्रिकृत गर्ने लक्ष्य लिएको बताइन्। उनले अब सिक्किमका जनता अघि आउनै पर्छ, युवाहरू अघि आउनै पर्छ र दबिएको आवाजलाई उठाउनै पर्छ भनी अपील पनि गरिन्। एसडीएफ पार्टी र पावन चामलिङ जनताको साथमा रहेको बताउॅंदै उनले जनता राज पुनर्स्थापनाको निम्ति तयार बस्न र कम्मर कस्न आह्वान गरिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande