गोरामुमोद्वारा सुवास घिसिङ जन्म जयन्ती पालन
गोरामुमोद्वारा सुवास घिसिङ जन्म जयन्ती पालन


मिरिक, 22 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज संस्थापक अध्यक्ष सुवास घिसिङको 89औं जन्मजयन्ती मनायो। सुवास घिसिङ स्मृति पार्क मञ्जु मिरिकमा मनाइएको जन्मजयन्तीमा गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक एवं गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल विधायक निरज जिम्बा, केन्द्रिय नेतृत्वहरू र पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

यस अवसरमा पार्टी नेतृत्वहरूले सुवास घिसिङको समाधिमा दीप प्रज्जवलन गरेपछि खदा माला लगाए भने मिरिक साई मण्डलीले भजन कृतन गरेको थियो।

केन्द्रिय समिति प्रवक्ता वाई लामाले विज्ञप्ति जारी गर्दै भने, गोर्खाहरुलाई राजनीतिको परिभाषा सिकाउने र 1986 सालको आन्दोलनमार्फत् दार्जिलिङ गोर्खा पार्वतीय परिषद गठन भएपछि दार्जिलिङको भूभाग गोर्खाहरुको किपट हो भनी भारत वर्षभरि परिचय गराए। सुवास घिसिङको दार्शनिक राजनीतिकको कारण आज विश्वले उनलाई चिन्छ। यसैकारण उनलाई गोर्खा पिता भनेर उपाधि पनि दिएका छन्।

उनले सुवास घिसिङको सपनालाई पूरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष मन घिसिङ, सम्पूर्ण नेतृत्ववर्ग लगायत कार्यकर्ताहरुको हो र गोरामुमो यसको निम्ति निरन्तर लागिपरेको बताएका छन्। उनले सुवास घिसिङ एक राष्ट्र प्रेमी थिए र भारतीय गोर्खाहरुको राष्ट्र प्रेममा शंकाको दृष्टिकोणले हेर्नु हुॅंदैन भनी बताएका छन्। उनले अब भारत सरकारले सुवास घिसिङले देखेको राजनीतिक समाधान चॉंडोभन्दा चाडो पूरा गर्नुपर्छ भनेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande