कोलकाता, 22 जून (हि.स.)। कोलकाता नगरनिगम (केएमसी)-ले शहरमा विज्ञापन व्यवस्थालाई लिएर एक ऐतिहासिक कदम उठाएको छ। निगमको नयाँ विज्ञापन नीति अन्तर्गत अब सारा कोलकातामा एलईडी मोनोपोलमा मात्र विज्ञापन टाँस्ने अनुमति दिइनेछ। राज्य सरकारले यस नीतिलाई स्वीकृति दिएको छ जसबाट यो व्यवस्था अब चाँड़ै नै शहरभरि लागू हुनेछ।
नगरनिगमका मेयर फिरहाद हाकिमले यस सन्दर्भमा जानकारी गराउँदै भने, नयाँ व्यवस्था अन्तर्गत अब प्रत्येक सड़कको लागि भिन्न-भिन्नै टेण्डर निकालिनेछ। यसको उदेश्य हो अवैध विज्ञापनमा रोक लगाउनु अनि निगमको राजस्वमा वृद्धि ल्याउनु। निगमको दाबी छ, यस प्रणालीबाट अब विज्ञापनबाट हुने आयमा केही गुणा वृद्धि हुनेछ र कर चोरी गर्ने कुनै सम्भावना छैन।
शहरका केही प्रमुख विज्ञापन व्यवसायीहरूले यस कदमलाई स्वागत गरेका छन्। विज्ञापन एजेन्सीका संचालक दीप राय चौधरी अनुसार नयाँ नीतिबाट सम्पूर्ण व्यापारमा पारदर्शिता आउनेछ। रेट चार्टदेखि लिएर विज्ञापनको डिजाइनसम्म, सबै कुरा व्यवस्थित हुनेछ अनि शहरको सुन्दरता पनि बढ़्नेछ।
तथापि कतिपय व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्, मोनोपोल (फलामको खम्बामा टाँसिने विज्ञापन), विज्ञापनको लागत पारम्परिक माध्यमहरूको तुलनामा अधिक हुनसक्छ, तर अधिकांशको मान्यता छ कि यदि खर्चमा केही हजार रुपियाँको अन्तर आयो भने पनि यो व्यापारको समग्र पारदर्शिता अनि वैधताको लागि लाबकारी साबित हुनेछ।
मेयर हाकिमले यो पनि स्पष्ट पारे, वर्तमानमा पुरानो टेण्डरमा काम गरिरहेका व्यवसायीहरूको अनुबन्धको अवधि समाप्त भएपछि नै नयाँ नीति लागू हुनेछ। निगमको यस नयाँ पहललाई कोलकातामा विज्ञापनको क्षेत्रमा अनुशासन, आय वृद्धि तथा सौन्दर्यीकरणको महत्वपूर्ण कदमको रूपमा हेरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा