नाम्ची, 22 जून (हि.स.)। सिक्किम राज्य स्थापनाको 50 वर्षको उपलक्ष्यमा आज तिमी चिया बगानले आफ्नो परिसरमा एक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा पर्यटन एवं नागरिक उड्डयन तथा वाणिज्य एवं उद्योग विभाग मन्त्री छिरिङ टी. भोटियाले मुख्य अतिथि र जिल्ला अध्यक्ष अञ्जिता राजालिम विशिष्ट अतिथि थिए।
यस अवसरमा मन्त्री भोटियाले राज्य स्थापनाको 50 वर्षको सम्झनामा आधिकारिक म्यासकट 'कुजु' प्रतिकृतिको उद्घाटन गरे। यसैगरी, तिमी चिया बगानको इतिहास चित्रण गर्ने पट्टिका र विशेष तिमी चियाको दोस्रो फ्लशको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले 1969 मा छोग्यालको शासनकालमा स्थापित तिमी चियाको ऐतिहासिक महत्व तथा यस क्षेत्रको लागि गौरव र समृद्धिको स्रोतको रूपमा यसको भूमिकाको उल्लेख गरे। उनले तिमी चिया बगानको विस्तार र यसको सञ्चालनले स्थानीय मानिसहरूको रोजगारमा नयाँ अवसरहरू सिर्जना गर्ने बताए।
आत्मनिर्भरतामाथि बोल्दै मन्त्रीले 'एक परिवार एक उद्यमी' पहल र राज्य सरकारले लागू गरेको विभिन्न सीप विकास कार्यक्रमहरूको बारेमा पनि जानकारी गराए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा सरकार जनताको कल्याण र उत्थानप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए।
मन्त्रीले सबै नागरिकहरूलाई रचनात्मक र प्रगतिशील समाज निर्माणमा सक्रिय रूपमा योगदान दिन आग्रह गरे। उनले चिया बगानका सेवानिवृत्त कर्मचारीहरूलाई उनीहरूको अटल प्रतिबद्ध सेवाको लागि कृतज्ञता व्यक्त गरे।
यसरी नै तिमी चियाका अध्यक्ष आरके वालिङले तिमी चियाको उज्ज्वल सम्भावनाहरूमा जोड दिॅंदै दिगो कृषिलाई अगाडि बढाउन, इको-टुरिज्म प्रवर्द्धन गर्न र क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्न यसको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले नयाँ शुरु गरिएका उत्पादनहरू र नवीन मार्केटिङ रणनीतिहरूले तिमी चियाको दृश्यता, बजार पहुँच र समग्र ब्रान्ड मूल्यमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे।
तिमी चियाकी प्रबन्ध निर्देशक राधा प्रधानले चिया बगानको सञ्चालन र उत्पादन स्थितिको विस्तृत जानकारी दिएकी थिइन्। कार्यक्रममा मुख्य अतिथिको बाहुलीद्वारा चिया बगानका पूर्व कर्मचारीहरूलाई उनीहरूको वर्षौंको समर्पित र प्रशंसनीय सेवाको सम्मानमा प्रशंसा पत्रले सम्मानित गरियो।
हिन्दुस्थान समाचार / बिशाल