नयाँ दिल्ली, 25 जून (हि.स.)। आपातकालको 50औं बरसीमा भोली (बिहिवार) राष्ट्रिय राजधानी दिल्लीको डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा बहुभाषी संवाद समिति 'हिन्दुस्थान समाचार' को तत्वावधानमा वैचारिक महाकुम्भ हुनेछ। यस आयोजनमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरकार्यवाह दत्तात्रेय होसबाले र केन्द्रिय मन्त्री नितिन गडकरी प्रमुख रूपमा सामेल हुनेछन्।
‘संविधान हत्या दिवस’ मा आयोजित यस कार्यक्रममा आपातकालको कालो अध्यायको शिक्षा र सन्देशलाई केन्द्रमा राखेर संवाद र विमर्श हुनेछ। यसमा इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्र (आईजीएनसीए) का अध्यक्ष एवं हिन्दुस्थान समाचारका समूह सम्पादक पद्म भूषण रामबहादुर राय, राष्ट्रिय स्वाभिमान आन्दोलनका संस्थापक अध्यक्ष केएन गोविन्दाचार्य जस्ता प्रमुख विचारक र आपातकालका साक्षीले आफ्नो अनुभव देश सामू साझा गर्नेछन्।
यस अवधि डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रको तत्वावधानमा आपातकालमाथि आधारित प्रदर्शनी र लघु फिल्मको प्रदर्शन हुनेछ। यसबाट युवाहरूलाई त्यस समयको राजनीतिक र सामाजिक यथार्थसित परिचित हुने अवसर प्राप्त हुनेछ। साथै हिन्दुस्थान समाचारको पाक्षिक पत्रिका 'युगवार्ता' र मासिक पत्रिका 'नवोत्थान' को आपातकालमाथि आधारित विशेषांकहरूको लोकार्पण हुनेछ।
हिन्दुस्थान समाचारका मुख्य समन्वयक राजेश तिवारीले बताए, कार्यक्रममा बाबा साहब भीमराव अम्बेडकरद्वारा प्रदत्त संविधानको महत्वमाथि चर्चा गरिनेछ। साथै आपातकालको समय संविधानलाई अदेखा गरिएका घटनाहरू र त्यसपछि भएको संवैधानिक पुनर्स्थापनामाथि पनि विचार राखिनेछ। कार्यक्रममा शिक्षाविद, शोधार्थी, विश्वविद्यालयहरूका विद्यार्थी र विभिन्न संस्थानहरूका प्रबुद्धजनले भारी संख्यामा हिस्सा लिनेछन्।
कार्यक्रमको अध्यक्षता हिन्दुस्थान समाचारका अध्यक्ष अरविन्द भालचन्द्र मार्डीकरले गर्नेछन्। आईजीएनसीएका सदस्य सचिव डा. सच्चिदानन्द जोशीले स्वागत गर्नेछन्। डा. अम्बेडकर इन्टरनेशनल सेन्टरका निदेशक आकाश पाटिलले धन्यवाद ज्ञापित गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी