बंगालमा घना वर्षाको चेताउनी जारी
weather


कोलकाता, 29 जून (हि.स.)। पश्चिम बंगालमा फेरि एकपटक मौसमले कोल्टे फेरेको छ। बंगालको खाड़ीको उत्तर-पश्चिमी क्षेत्रमा भारत अनि बंगलादेशका तटीय क्षेत्रहरू नजिक एक चक्रवातीय दबाव निर्माण भएको छ जुन आगामी 48 घण्टाभित्रमा निम्न दबावमा परिवर्तन हुनसक्छ जसबाट राज्यका केही भागहरूमा घनाभन्दा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

अलिपुर मौसम विभाग अनुसार यस चक्रवातीय सिस्टमको प्रभावबाट विशेष गरी दक्षिण बंगालको तटीय एवं पश्चिमी जिल्लाहरूमा व्यापक वर्षा हुने आशंका छ। आइतवार बिहान कतिपय स्थानहरूमा सूर्यले दर्शन दिए पनि दिनभरि नै बादल लाग्नाले मौसम बाफिलो हुनेछ। केही ठाउँंहरूमा हल्कादेखि मध्यम वर्षासितै तीव्र हावा चल्ने सम्भावना छ। बंगालको खाड़ीमा निर्माण भइरहेको दबावको प्रभाव पश्चिम बंगालदेखि झारखण्ड र मध्यप्रदेशसम्म देख्न पाइनेछ।

मौसम विभाग अनुसार यो सिस्टम बंगलादेशदेखि मध्यप्रदेशसम्म फैलिएको ट्रफ रेखाको माध्यमबाट सक्रिय भएको छ जसबाट घना वर्षा हुने पूर्वानुमान व्यक्त गरिएको छ। दक्षिण बंगालका जिल्लाहरू जस्तै दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया औ बाँकुड़ामा अत्यधिक भारी वर्षाको चेताउनी जारी गरिएको छ भने बीरभूम, मुर्शिदाबाद, नदिया र कोलकाता सहित सम्पूर्ण दक्षिण बंगालमा आइतवारदेखि मंगलवारसम्म भारी वर्षाको चेताउनी जारी गरिएको छ।

उत्तर बंगालका माथिल्लो जिल्लाहरूमा छरिएको घना वर्षा हुनसक्छ भने अन्य सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ साथै मेघ गर्जन र वज्रपात हुने चेताउनी पनि दिइएको छ। 30-45 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।

राज्यमा हाल एक मजबुत मनसुनी प्रणाली सक्रिय भएको छ। मौसम विशेषज्ञहरू अनुसार बंगालको खाड़ीमा विकसित यो चक्रवात ओडिशा, पश्चिम बंगाल र झारखण्ड हुँदै मध्यप्रदेश तर्फ बढ़्नेछ साथै अर्को ट्रफ रेखा अरब सागरदेखि छत्तीसगढ़ र मध्यप्रदेशसम्म फैलिएको छ जसबाट पूर्वी मध्यप्रदेशमेा पनि चक्रवातीय गतिविधि तीव्र भएको छ। यी सबै कारणहरूले गर्दा बंगाल सहित पूर्वी भारतका केही भागमा आगामी तीन दिनसम्म भारी वर्षा अनि तीव्र हावा चल्नसक्छ।

मौसम विभागले विशेष 30 जूनसम्म राज्यका केही जिल्लाहरूको लागि अरेञ्ज अलर्ट जारी गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande