हावड़ा, 01 जुलाई (हि.स.)। जिल्लाको जगाछा थाना अन्तर्गत रामराजातला क्षेत्रमा मंगवार एउटा बन्द फ्ल्याटबाट एउटै परिवारका तीनजना सदस्यहरूको शव भेटिनाले खैलाबैला मच्चियो। मृतकहरूको पहिचान बलराम खाँ (65), उनकी पत्नी शेली खाँ (57) र छोरा संबृत खाँको रूपमा भएको छ।
पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। यो मामिला हत्या हो कि सामूहिक आत्महत्या हो, यसको जाँचमा पुलिस जुटेको छ। प्रारम्भिक जाँचमा पुलिसले विष सेवन गरेर आत्महत्या गरेको आशंका व्यक्त गरेको छ।
प्राप्त जानकारी अनुसार रामराजातलाको हाटपुकुर लेनस्थित शिवालय अपार्टमेन्टको चौथो तलामा यो परिवार बस्दै आएको थियो। बलराम खाँ एलआईसीमा कार्यरत थिए भने शेली खाँ डाक विभागमा नोकरी गर्थिन्। यिनीहरूका छोरा संबृत एक आईटी कम्पनीमा कार्यरत थिए।
स्थानीय मानिसहरू अनुसार परिवारमा कुनै प्रकारको झगड़ा वा तनाउ थिएन। छिमेकीहरूसित उनीहरूको व्यवहार सौहार्दपूर्ण थियो। मंगलवार बिहानदेखिकै उनीहरूको फ्ल्याटको ढोका भित्रबाट बन्द थियो, तर कसैलाई पनि शंका भएन। यस अवधि उनीहरूका एकजना आफन्तले उनीहरूसित फोन कलमा सम्पर्क गर्ने प्रयास गरिरहेका थिए। फोन नउठाएको कारणले शंका लागेर आफन्त स्वयं उक्त अपार्टमेन्टमा आए।
ढोका ढक्ढकाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि वरपरका छिमेकीहरू पनि त्यहाँ भेला भए। तुरून्त जगाछा थानालाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर फ्ल्याटको ढोका भत्काएर भित्र पस्यो जहाँको दृश्य देखेर सबै स्तब्ध भए।
बलराम खाँ र उनकी पत्नी शेलीको शव कोठाभित्र पलंगमा थियो भने छोरा संबृतको शव अर्को कोठामा थियो। पुलिसको भनाइ छ, तीनैजनाको मृत्यु धेरै अगाड़ि भइसकेको थियो। जाँचमा कुनै प्रकारको सुसाइड नोट भेटिएन। यसको साथै परिवारको आर्थिक स्थिति अनि कुनै मानसिक तनाउको पक्षलाई लिएर पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा