एनसीसी क्याडेट्स राष्ट्रका अमूल्य सम्पत्ति हुन्: राज्यपाल
एनसीसी क्याडेट्स राष्ट्रका अमूल्य सम्पत्ति हुन्: राज्यपाल


- एनसीसी क्याडेट्सलाई 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान

गान्तोक, 15 जुलाई (हि.स.)। राजभवनको आशीर्वाद भवनमा आज 'एनसीसी गवर्नर मेडल समारोह' आयोजन गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुरले चयनित एनसीसी क्याडेट्सलाई राष्ट्र सेवामा उनीहरूको उत्कृष्ट योगदानको लागि सम्मानित गरे। यस अवसरमा शिक्षा, खेल एवं युवा मामिला विभागका मन्त्री राजु बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

राज्यपालले आफ्नो सम्बोधनमा एनसीसी क्याडेट्सलाई राष्ट्रको अमूल्य सम्पत्ति बताउॅंदै बाल्यकालदेखि सेवाभावको बीजारोपण भए निश्चितरूपमा राष्ट्रप्रति संकल्पित बन्ने छन् भनी बताए। उनले सिक्किम भौगोलिक रूपमा सानो राज्य भए पनि यहॉंको एनसीसी एकाईहरूले जुन समर्पण र उर्जाको साथमा राष्ट्र निर्माणमा योगदान दिइरहेका छन्, त्यो अत्यन्त प्रेरणादायक रहेको बताए।

सिक्किमले दश हजारभन्दा धेरै क्याडेट्स तयार गरेको बताउॅंदै राज्यपालले यो देशको लागि एक उदाहरण रहेको बताए। उनले युवाहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत @2047 को संवाहक बन्न प्रोत्साहित गरे।

शिक्षा मन्त्री बस्नेतले युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक जिम्मेवारीको मूल्यहरूलाई अपनाएर राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरे।

कार्यक्रममा दार्जिलिङ एवं सिक्किम एनसीसी ग्रुप कमाण्डर ब्रिगेडियर मुकेश गुरुङ, सेना मेडलले राज्यमा चलिरहेका एनसीसी गतिविधिहरूको बारेमा विस्तृत जानकारी दिए। कार्यक्रममा कूल 37 पदक प्रदान गरियो, जसमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक सामेल रहेको राजभवनले बताएको छ।

यस अवसरमा रीदम अफ् रङ्गीत, नाम्ची एनसीसी कोयरले देशभक्ति गीत 'जहॉं बग्छ टिस्टा रङ्गीत', 'कदम कदम बढाए जा' र 'हम सब भारतीय हैं' गाएर सभागारलाई राष्ट्रिय भावनाले ओतप्रोत बनाए।

कार्यक्रममा एनसीसीका वरिष्ठ अधिकारीहरू र शिक्षा विभागका अधिकारीहरूको पनि उपस्थिति थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande