दार्जिलिङ, 15 जुलाई (हि.स.)। दार्जिलिङ नगरपालिकाको कर्मचारी सँगठन आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन भएको घाेषणा गरिएको छ। दार्जिलिङ नगरपालिका कर्मचारी सँगठनका अध्यक्ष एलन छेत्रीले मिडियालाई दिएको बयानमा आजदेखि सँगठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन भएको घोषणा गरेका छन्।
उनले भने, 'दार्जिलिङ नगरपालिकामा पहिला दुईवटा युनियन थियो। अहिले दुइवटालाई मर्ज गरेर एउटा युनियन बनाएका छौँ। दार्जिलिङ नगरपालिकामा धेरै समस्या छन्। दैनिक हाजिराको समस्या, पीएफ, पेन्सन सबैको समस्या छ। यति ठूलो अनि थुप्रै समस्या कहाँ गएर समाधान गर्ने? हामीले हाम्रो सबै बैठकहरूमा यो विषयमा चर्चा गऱ्यौं। जुन किसिमले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले अरूको गुनासो सुनेर समाधान निकाल्नु हुँदैछ, उहाँबाहेक अन्य ठाउँमा हाम्रो समस्याको समाधान छैन भन्ने लाग्यो।'
उनले हिजो मात्र अनित थापालाई भेटेर आफ्नो समस्याहरू राखेको बताए। जीटीएम प्रमुखले सकारात्मक सुझाउ दिएको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको उनले बताए। उनले समस्याको पक्का समाधान निस्कने पनि विश्वास दिलाएको बताए। उनले अनित थापामाथि विश्वास गरेर आजदेखि संगठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सँगठन बनेको बताए।
हिन्दुस्थान समाचार / हनोक