- चॉंडै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको आश्वासन
खरसाङ, 15 जुलाई (हि.स.)। महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भइरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार मार्ग अन्तर्गत गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान गएको पैह्रोले खरसाङ र महानदीदेखि सिविटार चियाबारीका विभिन्न गाउँहरुमा पुग्न निक्कै असुविधा भइरहेको छ।
अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिनअघि यही पैह्रो भएर पिकअप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानीले कुनै पनि समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ।
अहिले यस पैह्रो क्षेत्रको रोड भएर साना गाडीहरू, स्कूटी र बाइकहरु कुदिरहेका छन्। यस पैह्रोले प्रभावित यस रोडलाई झट्टै मरमत्ति गर्नुपर्ने देखिएको छ। पैह्रो झट्टै मरमत्ति नगरिए रोड सबै पैह्रोले तान्ने खतरा छ। यो रोडलाई पैह्रोले तानेको खण्डमा सिविटार क्षेत्र कालापानीमा परिणत हुन सक्छ। त्यसैले पनि यो पैह्रोले क्षतिग्रस्त बनाएको रोड मरमत्तिको लागि स्थानीयवासीले झट्टै पहल गरिदिन क्षेत्रीय प्रतिनिधिहरुलाई निवेदन गरेका छन्।
यस विषयमा महानदी ग्राम पञ्चायतको सिविटार क्षेत्रीय पञ्चायत सदस्य राजीव तामाङ पैह्रो गएपछि महानदी ग्राम पञ्चायतको तर्फबाट भोलिपल्ट नै तारपोलिन लगाउने कार्य गरिएको र ठूला गाडीहरु नकुदाउन साथै साना गाडीहरू पनि होसियारीपूर्वक कुदाउने आह्वान गर्दै बोर्ड राखिएको बताए। उनले यस पैह्रो मरमत्तिको लागि सम्बन्धित विभाग र माथिल्लो तहसम्म पत्राचार गरिएको जानकारी गराए।
उनले यस पैह्रो मरमत्तिको लागि सम्बन्धित विभागको तर्फबाट 25 जून र गत 13 जय जुलाईमा निरीक्षण पनि गरिएको र यस पैह्रो मरमत्तिको लागि चॉंडै कार्य शुरु गरिने पनि बताए। पञ्चायत सदस्य तामाङले यदि मरमत्ति कार्य शुरु नभए आफूहरुले अझ सशक्त रुपमा पहल गर्ने पनि बताएका छन्। उनले स्थानीय सिविटारका जनसाधारणलाई धैर्य धारण गरेर बसिदिन आह्वान पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक