गान्तोक, 15 जुलाई (हि.स.)। सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले रणनीतिक र आर्थिक महत्वलाई जोड दिॅंदै ऐतिहासिक नथुला सीमा व्यापार पुन: शुरू गर्न माग गरेका छन्। यस सन्दर्भमा सांसद लेप्चाले आज नयॉं दिल्लीस्थित उद्योग भवनमा वाणिज्य विभागकी संयुक्त सचिव ऐश्वर्या सिंहसॅंग भेट गरेर ज्ञापन बुझाएका छन्।
सांसद लेप्चाले आज जारी एक प्रेस विज्ञप्तिमा यस महत्वपूर्ण व्यापार मार्गको पुन: शुरुवातको लागि आफूले निरन्तर वकालत गर्दै आएको बताएका छन्। यसले आर्थिक वृद्धि र जनता-जनताबीचको सम्बन्धलाई मात्र बढावा दिँदैन, तर पूर्वी हिमालयमा क्षेत्रीय सहयोग र विकासको प्रतीकको रूपमा पनि काम गर्नेछ भनी उनले बताएका छन्।
सांसद लेप्चाले भनेका छन्, 'नाथुला हुँदै भारत-तिब्बत सीमा व्यापार पुन: खोल्दा स्थानीय व्यापारीहरूलाई फाइदा हुनेछ, सीमावर्ती समुदायहरूमा जीविकोपार्जन सुदृढ हुनेछ र यो भारतको एक्ट इस्ट नीति अनुरूप हुनेछ।'
अर्कोतिर, राज्यसभा सांसदले नाथाङ माचोङ क्षेत्रमा चिया खेती गर्नेहरूका चिन्ताहरूतिर पनि ध्यान आकर्षित गराएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले संयुक्त सचिवलाई आधुनिक चिया प्रशोधन कारखाना स्थापना गर्न वित्तीय आवश्यकताहरूको रूपरेखासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरेका छन्।
उनले स्थानीय रूपमा उब्जाइएको चियामा मूल्य थप्न र नाथाङ-माचोङ चिया उत्पादक कल्याण बोर्ड अन्तर्गत किसानहरूको आर्थिक सम्भावना बढाउन यो पहल महत्त्वपूर्ण छ भनेका छन्। सांसद लेप्चाले रणनीतिक व्यापार र कृषि उद्यम दुवैमा सिक्किमको अद्वितीय सम्भावनालाई साकार पार्न सबै सम्बन्धित मन्त्रालयहरूसँग नजिकबाट काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल