अलिपुरद्वार, 16 जुलाई (हि.स.)। उत्तर बंगालमा लगातार परिरहेको मुसलधारे पानीबीच अलिपुरद्वारको मदारीहाट क्षेत्रमा ठूलो घटना हुनदेखि बच्यो। अचानक आएको बाढ़ीमा एउटा यात्रीवाहक बस फस्यो जसले गर्दा यात्रीहरू भयभित भए। यद्यपि स्थानीय मानिसहरूको तत्परता अऩि साहसिक प्रयासको फलस्वरूप सबै यात्रीहरूलाई सुरक्षित बाहिर निकालियो।
प्राप्त जानकारी अनुसार उक्त यात्री वाहक बस जामतालादेखि टोटोपाड़ा गइरहेको थियो। बुधवार बिहान बस मदारीहाट क्षेत्र भएर गुज्रिरहेको समय अचानक बांगरी नदीको जलस्तर तीव्र गतिमा बढ़्यो।
भनिन्छ, भुटानका हिमाली क्षेत्रमा पानी परेको कारणले नदीमा अचानक बाढ़ी आएको हो जसबाट वरपरका क्षेत्रहरू जलमग्न भए।
यसै बाढ़ीको पानीमा बस फस्यो। बसको केही भाग पानीमा डुबेपछि यात्रीहरू डराएर गुहार माग्दै चिच्याउन थाले। बस चालकले विवेक देखाउँदै बसलाई डुब्नदेखि बचाए। तर स्थिति बिग्रिँदै गइरहेको थियो।
घटनाको जानकारी पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटे। उनीहरूले पुलिस र प्रशासनलाई पनि सूचना दिए। नदीको तीव्र प्रवाहको परवाह नगरी स्थानीय मानिसहरू बस नजिकमा पुगे अनि एक-एकजना गर्दै सबै यात्री अनि चालकलाई सुरक्षित बाहिर निकाले। सबैलाई सुरक्षित स्थानमा लगियो भने बस अहिले पनि पानीभित्रै फसेको छ।
यस घटनापछि मदारीहाट र टोटोपाड़ाबीच सड़क सम्पर्क पूर्ण रूपले ठप्प भएको छ। प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ। नदीको जलस्तर तथा प्रवाह घट्नसाथ सम्पर्क बहाल गर्ने प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा