एचएचटीडीसीएसएस प्रतिनिधिमण्डलले गऱ्यो पारिश्रमिक सुधार, बोनस भुक्तानी र सरकारको तत्काल हस्तक्षेपको माग
एचएचटीडीसीएसएस प्रतिनिधिमण्डलले गऱ्यो पारिश्रमिक सुधार, बोनस भुक्तानी र सरकारको तत्काल हस्तक्षेपको माग


सिलगढी, 16 जुलाई (हि.स.)। उत्तर बंगालका चिया बगान श्रमिकहरूको अधिकार र सम्मानको पक्षमा सशक्त आवाज उठाउँदै हिमालयन एन्ड हिन्दुस्तानी टी एन्ड डेभलपमेन्ट को-अपरेटिभ स्टाफ सोसाइटीको एक प्रतिनिधिमण्डलले आज पश्चिम बंगाल सरकारको श्रम विभागका उप–श्रम आयुक्तलाई डागापुर, सिलगढीस्थित कार्यालयमा भेटेर एक ज्ञापन पत्र बुझाएको छ। प्रतिनिधि मण्डलमा डीके गुरुङ अध्यक्ष, केन्द्रिय समिति, राजेश लाकरा कार्यवाहक अध्यक्ष, डुवर्स क्षेत्र, डा. जोय प्रफुल महासचिव, डुवर्स क्षेत्र र आयुष अधिकारी प्रतिनिधि, तराई–सिलगढी क्षेत्र थिए। उनीहरूका साथमा वरिष्ठ पदाधिकारीहरू र सदस्यहरू पनि थिए।

ज्ञापन पत्रमा पहाड, तराई र डुवर्स क्षेत्रका हजारौं चिया श्रमिकहरूलाई प्रभावित गर्ने दीर्घकालीन र अत्यन्तै जरुरी मागहरू प्रस्तुत गरिएको बताइएको छ, जसमा सबै चिया बगान श्रमिकहरूका लागि संविधानसम्मत न्यूनतम ज्यालाको तत्काल कार्यान्वयन, बढ्दो महँगीको बीचमा कुनै संरचित तलब वृद्धिबाट वञ्चित स्टाफ तथा सब-स्टाफको तलब पुनरावलोकनको माग, २०२३–२४ को बाँकी ४% पूजा बोनस तत्काल छुट्याउन माग र २०२४–२५ को पूजा बोनसको प्रारम्भिक वार्ता तथा समयमै वितरण सुनिश्चित गर्न माग सामेल छन्।

एचएचटीडीसीएसएसले श्रम विभागलाई गम्भीरता र जवाफदेहिताका साथ तुरुन्त कार्य गर्न आग्रह गरेको छ र उत्तर बंगालका चिया श्रमिकहरूले भोगिरहेको आर्थिक संकट र स्थायित्वविहीन अवस्थालाई उजागर गरेको छ। 'यो केवल ज्यालाको कुरा होइन, यो उत्तरबंगालको अर्थतन्त्रको मेरुदण्ड समान चिया श्रमिकहरूको सम्मान र न्यायको कुरा हो,' प्रतिनिधिमण्डलले भने।

चिया बगानका‌ श्रमिकहरू न्यून पारिश्रमिकमा जीवन यापन गर्न र विभिन्न सुविधाबाट वञ्चित रहन बाध्य भइरहँदा एचएचटीडीसीएसएसले नीति निर्माण र सरकारी जवाफदेहिताको मागलाई झनै तीव्र बनाउँदै लगेको पनि बताइएको छ।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande