राजेस चौहानको‌ बाहुलीद्वारा धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन
राजेस चौहानको‌ बाहुलीद्वारा धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन


सोनादा, 16 जुलाई (हि.स.)। रंगबुल धोतरिया रङमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन गरिएको छ। उक्त भवन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जिलिङ अभियान्त्रिकी विभागले निर्माण गरेको हो। नवनिर्मित सार्वजनिक भवनको उद्घाटन आज क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीद्वारा गरियो।

उद्घाटनपछि नवनिर्मित सार्वजनिक भवन आजदेखि निज गाउँ ग्राम युवा संघ धोतरियालाई सुम्पिएको छ। उद्घाटन समारोहमा विभागीय अभियन्ताहरु, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्य जीवन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि जीटीएका डेपुटी चेयरम्यान चौहानले रंगबुल धोतरिया रंगमुक समष्टिमा धेरै विकासका कार्यहरू भइरहेको र आगामी दिनहरूमा पनि धेरै विकासका कार्यहरू गरिने बताए। उनले क्षेत्रमा विकासका कार्यहरू यथावत राख्नका लागि जनसाधारणको माया र साथ पनि यसरी नै जारी राखिदिन अनुरोध गरे।

उनले उद्घाटन गरिएको सार्वजनिक भवन आजदेखि यहाँको समाजलाई सुम्पिएको र यसको राम्ररी देखरेख गरिदिन निवेदन पनि गरे। उनले धोतरियादेखि इनटेकलाई जोड्ने पुलको पनि चॉंडै निर्माण गरिने घोषणा गरे।

कार्यक्रममा क्षेत्रीय सभासद एवं जीटीए डेपुटी चेयरम्यान राजेस चौहानलाई स्थानीयहरुको तर्फबाट सम्मान पनि जनाइयो। यस गाउँमा एउटा सार्वजनिक भवन निर्माणको‌ लागि स्थानीय गाउँलेहरुले लामो समयदेखि माग गर्दै आइरहेका थिए। जीटीएले यहाँ सार्वजनिक भवन निर्माण गरिदिएकोमा‌ स्थानीय गाउँलेहरुले चौहान र जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्।

निज ग्राम युवा संघका सल्लाहकार केएस बम्जनले यो समाज 1955 सालतिर नै स्थापना भएको, तर अहिलेसम्म पनि समाज घर निर्माण हुनु सकेको थिएन भनी बताए। उनले पहिले पनि यहाँ सार्वजनिक भवन निर्माणको लागि माग गरिएको, तर निर्माण हुन नसकेको बताए। अहिले स्थानीय सरकारले कम समयमा नै यहाँ सार्वजनिक भवन निर्माण गरिदिएर स्थानीयहरुलाई ठूलो उपकार गरेको उनले बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande