डायमण्ड हार्बर (दक्षिण 24 परगना), 16 जुलाई (हि.स.)। डायमण्ड हार्बर थानाको पुलिसलाई चोरीको मामिलामा ठूलो सफलता हात लागेको छ। पुलिसले नगद राशि सहित लगभग 50 लाख रुपियाँको गहना जफ्त गरेको छ। यस मामिलामा उडिशाको कोरापुट क्षेत्रबाट तीनजना आरोपीहरूलाई पक्राउ गरिएको छ।
डायमण्ड हार्बर पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक (जोनल) मितुन कुमार देले प्रेस कन्फ्रेन्समा बताए, केही महिनाअघि उस्ती थाना अन्तर्गत एक निजी ब्यांकको सीएसपी केन्द्रमा ठूलो चोरीको घटना भएको थियो। यस घटनापछि डायमण्ड हार्बरका अतिरिक्त पुलिस निदेशकको निर्देशमा एसडीपीओ साकिब अहमदको अगुवाईमा एसओजी टीम र उस्ती थानाले संयुक्त रूपमा जाँच शुरू गरेको थियो।
जाँच गर्ने क्रममा पुलिसलाई थाहा लाग्यो, घटनामा सामेल आरोपीहरू दक्षिण 24 परगनाका हुन् जो ओडिशाको कोरापुटमा लुकेर बसेका छन्। यसै तथ्यको आधारमा पुलिसले त्यहाँ छापा मारेर आरोपीहरूलाई पक्राउ गऱ्यो।
जाँचबुझमा आरोपीहरूले पुलिसलाई बताए, उनीहरूले सोनारपुर क्षेत्रस्थित एउटा सुनको पसलमा चोरी गरेका थिए र चोरीका सामानहरू उस्ती थाना क्षेत्रको संग्रामपुर क्षेत्रमा लुकाएर राखिएको थियो। पुलिसले आरोपीहरूले बताएको स्थानमा छापा मार्दा लगभग 50 लाख रुपियाँको सुनको गहना र 40 हजार रुपियाँ नगद भेट्यो।
पुलिसले बतायो, चाँड़ै नै आरोपीहरूलाई टीआई परेड (पहिचान परेड) गराइनेछ। यी आरोपीहरूबाट जफ्त गरिएका नगद र गहनाहरू कानूनी प्रक्रियापछि असली मालिकलाई सुम्पिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा