फतेहाबाद, 16 जुलाई (हि.स.)। प्रदेश सरकार किसानहरूलाई पर्याप्त मात्रामा डीएपी खाद उपलब्ध गराउन असफल भइरहेको छ जबकि निजी व्यापारीहरूको गोदाम खादले भरिएको छ। सरकारको संरक्षणमा निजी व्यापारीहरूले खादलाई ब्ल्याक गरी दुवै हातले किसानहरूलाई लुटिरहेका छन्।
पगड़ी संभाल जट्टा किसान संघर्ष समितिले यसलाई कुनै पनि स्थितिमा सहन गर्नेछैन। यदि सरकारले चाँड़ै नै खादलाई ब्ल्याक गर्नेहरूमाथि कारबाही नगरे साथै किसानहरूलाई पर्याप्त मात्रामा खाद उपलब्ध नगराए किसानहरू सड़कमा उत्रिन बाध्य हुनेछन्। यो मन्तव्य पगड़ी संभाल जट्टा किसान संघर्ष समितिका प्रदेश अध्यक्ष मनदीप नथवानले बुधवार संघर्ष समितिको राज्य कमिटीको आह्वानमा गुरूद्वारा झाड़ साहिब बस अड्डा नजिक किसानहरूद्वारा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्।
किसानहरूले खादको अभाव, महँगो भएको बिजुली दर सहित अन्य समस्याहरूलाई लिएर हरियाणा सरकारको विरोधमा प्रदर्शन गरे। प्रदर्शन अवधि सीएमको पुतला पनि दहन गरियो। प्रदर्शनको अध्यक्षता किसान नेता लवी बाठले गरे।
किसान नेता मनदीप नथवानले भने, पगड़ी संभाल जट्टा किसान संघर्ष समितिले विगत लामो समयदेखिकै खादको अभावलाई लिएर अधिकारीहरू समक्ष आवाज उठाउँदै आइरहेको भए पनि कृषि विभागीय अधिकारीहरूको कानको रौंसम्म हल्लिएको छैन। अब किसानहरूलाई फसलको लागि खादको अति नै आवश्यकता परिरहेको बेला किसानहरूलाई चारैतिर भौंतारिनको लागि छोड़िदिएको छ।
उनले भने, किसान संघर्ष समितिले 17 जुलाईमा फतेहबाद र रतियामा निजी व्यापारीहरूका खाद गोदामहरूको जाँच गराउनेछ। यदि कुनै व्यापारीले खाद ब्ल्याक गरिरहेको पाइयो भने सम्बन्धित व्यापारीविरूद्ध कारबाही गर्ने माग गरिनेछ।
मनदीप नथवानले अझ भने, किसान हितैषी भएको ढोल पिट्ने भाजपा सरकार किसानहरूको सबैभन्दा ठूलो शत्रु भएर उदाएको छ। एकातिर खादको अभाव त अर्कोतिर बिजुली महँगो बनाएर सरकारले किसानहरूको चोटमा नूनचुक छड़्किने काम गरेको छ। पैसा भुक्तान गरिएको भए पन किसानहरूलाई ट्यूबवेलको कनेक्शन दिइएको छैन। त्यसैले किसान संघर्ष समितिले माग गर्दछ, बढ़ाएको बिजुलीको बिललाई तुरून्त फिर्ता लेओस्। एचटी लाइनको लागि प्रदेशका किसानहरूलाई उचित क्षतिपूर्ति देओस्।
यस अवसरमा किसान नेता सुखदीप रन्धावा, अमन बाठ, सुरजीत सिंह, बन्टी सिंह, गुरमीत सिंह, जीत जठोल, मेवा सिंह, प्रभ सन्धू, पाल सन्धू, सूखा सन्धू, प्रीत सन्धू, हरपाल सिंह सहित ठूलो संख्यामा किसानहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा