गान्तोक, 16 जुलाई (हि.स.)। सिजिटन एक्सन पार्टी (सीएपी) सिक्किमले असम राज्यको विश्वनाथ जिल्लाका तत्कालीन जिल्लापाल मुनिन्द्रनाथ नागटेले भारतीय नेपाली समुदायमाथि गरेको आपत्तिजनक, विभेदकारी र अपमानजनक अभिव्यक्तिको घोर भर्त्सना जनाएको छ।
सीएपी उपाध्यक्ष (राजनीतिक मामिला) भूषण अधिकारीले आज जारी प्रेस विज्ञप्तिमा भने, चार दिनभित्र घर भत्काइदिन्छु, नेपाल फर्काइदिन्छु,
यो केवल वाक्य होइन, यो एउटा जातीय दम्भ, उपेक्षा र शासकीय अहंकारले जन्माएको अमर्यादित सोच हो, जसले भारतको संविधान, लोकतन्त्र, मानवता र सहअस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। हाम्रा पूर्खाहरूको ऐतिहासिक योगदानलाई बिर्सनु केवल मूर्खता हैन, इतिहासद्रोह हो।'
उनले मुनिन्द्रनाथ नागटेको बोलीले प्रशासनको अनुहार होइन, जातीय घृणाको मुखुण्डो देखाएको बताएका छन्। उनले सम्पूर्ण भारतीय नेपाली/गोर्खा समुदायसँग नागटेले माफी माग्नुपर्छ भनी माग पनि गरेका छन्। यसैगरी, उनले जातीय द्वेष फैलाउने अभिव्यक्तिको लागि अनुशासनात्मक र कानुनी प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ भनेका छन्।
सीएपी उपाध्यक्ष अधिकारीले हाम्रो पहिचान पञ्जीकृत नागरिकताको कार्डमा मात्र सीमित छैन, हाम्रो अस्तित्व भारतको आत्मामा, भूमिमा, भाषामा र भावनामा अंकित छ भनेका छन्। उनले यो केवल विरोध होइन, यो चेताउनी हो भन्दै हामी नेपाली भाषी भारतीय हौं, न त हामी बिर्सिने हौं, न झुक्ने, न चुप लाग्ने भनी बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल