गान्तोक, 16 जुलाई (हि.स.)। सिङताम बजारमा हिजो भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टी गहिरो चिन्ता व्यक्त गर्दै दु:ख प्रकट गरेको छ। एसडीएफले मृतात्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चीर शान्तिको कामना गरेको छ।
एसडीएफ उपाध्यक्ष (प्रचार प्रसार) कृष्ण खरेलले आदर्श गाउँ सिङताम निवासी १८ वर्षीय विक्रम छेत्रीको हिजो ट्रकको ठक्करबाट असमायिक निधन भएको बताएका छन्। उनले आज जारी प्रेस विज्ञप्तिमा भने, एक कलिला विद्यार्थी विद्यालय जान होस्टेल जादैगर्दा दुर्घटनाको शिकार बन्नु भनेको अत्यन्तै पीडादायी घटना हो। उनी जोरथाङस्थित माउन्ट सिनाई विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।
यस असहीन पिडाको घडीमा एसडीएफ पार्टी शोकाकुल परिवारको साथमा रहेको बताउॅंदै उनले यस दु:खलाई सहन गर्ने शक्ति इश्वरले प्रदान गरून् भनी प्रार्थना गरेका छन्।
उनले भने, सिङताम जस्तो साँगुरो र व्यस्त बजारमा विद्यालय जाने समयमा ट्राफिक कन्ट्रोल नहुनुले पनि यस्ता दु:खद दुर्घटना निम्त्याउने गर्दछ। हिजोको दुर्घटनाले यही कुरोलाई पुष्टि गर्दछ। यस्ता साँगुरो र व्यस्त बजारमा सरकारले ट्राफिक नियमअन्तर्गत विद्यालय समयमा ठुला सवारी साधनलाई नियन्त्रीत गर्नुपर्दछ साथै सडकका पेटिहरुलाई खुल्ला राख्नुपर्दछ। उनले दीर्घकालीन समाधानको लागि वैकल्पिक सडकको व्यावस्था र पार्किङ प्लाजाको निर्माण गरिनुपर्दछ ताकि भविष्यमा यस्ता दुर्घटनाहरु फेरि नदोहोरियोस् भनेका छन्।
हिन्दुस्थान समाचार / बिशाल