गान्तोक, 16 जुलाई (हि.स.)। दक्षिण सिक्किमको चेम्चे निवासी पर्वतारोही अशल राईको असामयिक निधनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले गहिरो दुःख व्यक्त गरेको छ। इण्डियन हिमालयन सेन्टर फर् एडभेन्चर एन्ड इको टुरिज्म-का प्रशिक्षकसमेत रहेका अशल राईको लद्दाखमा पर्वारोहणको समय मृत्यु भएको छ।
पर्वतरोहीहरूको 15 सदस्यीय टोलीमा राई पनि एक सदस्य रहेका थिए। यस प्रकारको साहसिक अभियान निकै चुनौतीपूर्ण हुने गर्दछ भन्दै सिक्किमले राज्यका युवा पर्वतारोहीहरूलाई प्रशिक्षण दिएर पोख्त गराउने एक कुशल प्रशिक्षक गुमाएको एसकेएमले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
एसकेएमले दिवंगत अशल राईको चिर आत्मा शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई ईश्वरले यो पीडा सहन गर्न सक्ने शक्ति प्रदान गरुन् भनी कामना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल