गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किम सरकारले प्रत्येक वर्ष 10 अगस्तका दिन 'आमा सम्मान दिवस' मनाउने घोषणा गरेको छ। आमाहरूको नि:शर्त प्रेम र योगदानको कदर गर्दै सरकारले आमा सम्मान दिवस मनाउने आज जारी एक अधिसूचनामा बताएको छ।
राज्यका मुख्य सचिव आर. तेलाङद्वारा हस्ताक्षरित अधिसूचना अनुसार, नयाँ पुस्ताको हेरचाहकर्ता, शिक्षक र मार्गदर्शकको रूपमा जीवनको पालनपोषणमा आमाले महत्वपूर्ण भूमिका निर्वाह गछिन्। आफ्नो करुणा, सहानुभूति र मूल्य प्रणालीको माध्यमले बालबालिकाको जीवनमा आमाको गहिरो प्रभावले बच्चालाई समाजमा एक जिम्मेवार र मूल्यवान नागरिक बनाउँछ।
बालबालिकाको जीवन र हाम्रो समाजको संरचनालाई आकार दिन आमाहरूले गरेको त्यागको सम्मानमा राज्य सरकारले प्रत्येक वर्ष 10 अगस्तलाई 'आमा सम्मान दिवस' को रूपमा मनाउने निर्णय गरेको कुरा अधिसूचनामा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल