गान्तोक, 31 जुलाई (हि.स.)। लगातार रूपमा परिरहेको पानीका कारण पैह्रो झरेकाले विभिन्न ठाउॅंमा फीडर पाइपलाइनहरूलाई क्षति पुऱ्याएका छन्। यस क्रममा 29 जुलाईका दिन राजधानीको बिग बजारमुनि नामनाङ ट्याङ्कलाई क्षति पुऱ्याएको छ भने 30 जुलाईका दिन अस्थायी रूपमा पुनर्स्थापित गरेर देवराली र स्यारीका उपभोक्ताहरूलाई जलापूर्ति पुन: शुरू गरिएको जन स्वास्थ्य अभियान्त्रिकी विभागले आज विज्ञप्तिमा जनाएको छ।
यसैगरी, 30 जुलाईका दिन तामाङ गुम्पा छेउ गएको पैह्रोले जमिनमुनिका पाइपलाइनहरूलाई क्षति पुऱ्याएको छ। यस कारण सिच्छे गौचरण र तादोङ, 5 माइल र 6 माइल आदि ठाउॅंहरूमा जलापूर्ति प्रभावित बनेको विभागले जनाएको छ। झोडा क्रसिङमा पनि पैह्रोले पाइपलाई क्षति पुऱ्याएको छ।
विभाग अनुसार, कतिपय पैह्रोहरू अझै पनि सक्रिय छन्, यद्यपि चॉंडोभन्दा चॉंडो जलापूर्ति सुनिश्चित गर्न पाइपलाइनहरू पुनर्स्थापित गर्ने प्रयास जारी छन्। विभागले प्रभावित क्षेत्रका उपभोक्ताहरूलाई विवेकपूर्ण तरिकाले पानीको उपयोग गर्न अपील गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल