सांसद सुब्बाले राष्ट्रिय राजमार्ग 10 मा तत्काल हस्तक्षेप गर्न केन्द्रिय मन्त्री गडकरीलाई गरे आग्रह
सांसद सुब्बाले राष्ट्रिय राजमार्ग 10 मा तत्काल हस्तक्षेप गर्न केन्द्रिय मन्त्री गडकरीलाई गरे आग्रह


गान्तोक, 01 अगस्त (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई सीमावर्ती राज्य सिक्किमलाई देशको अन्य भागसँग जोड्ने जीवन रेखा राष्ट्रिय राजमार्ग 10 को खतरनाक स्थितिको बारेमा तत्काल कारबाही गर्न माग गर्दै ज्ञापन बुझाएका छन्।

हाल राष्ट्रिय राजमार्ग 10 को स्थिति गम्भीर रहेको जनाउॅंदै सांसद सुब्बाले विशेष गरी पश्चिम बंगालको कालेबुङ जिल्ला अन्तर्गतको टिस्टा खण्डमा बारम्बार पैह्रो जाने र टिस्टा नदीको बहावका कारण बाढी आउने गरेको उल्लेख गरेका छन्। उनले गान्तोकदेखि सेवकसम्म फैलिएको यो महत्वपूर्ण राजमार्ग अक्टोबर 2024 देखि एनएचआईडीसीएलको देखरेखमा रहेको पनि जानकारी गराएका छन्।

आफ्नो ज्ञापनपत्रमा सांसद सुब्बाले केन्द्रिय मन्त्रीलाई अक्टोबर 2024 मा आएको विनाशकारी टिस्टा नदीको बाढीपछि टिस्टा नदीमा ठूला भू-आकृतिगत परिवर्तनहरू भएको जानकारी गराएका छन्। उनले माटो, ढुङ्गा र बलुवा जम्मा भएको कारण नदीको सतहमा वृद्धि भएको र वर्षाको समयमा एनएच 10 मा बारम्बार बाढी आउने गरेको बताए। उनले राजमार्ग अन्तर्गत सेवक र मेल्लीबीच धेरै जोखिमपूर्ण खण्डहरू बारम्बार डुबानको जोखिममा रहेको र यसले बासिन्दा र यात्रुहरूको जीवन र सम्पत्तिलाई खतरामा पारेको बताएका छन्।

उनले जल शक्ति मन्त्रालयद्वारा नियुक्त प्यानलको प्रतिवेदनबारे पनि अवगत गराएका छन्, जसमा उत्तर सिक्किमको साङ्कलाङदेखि कालेबुङ जिल्ला अन्तर्गत मल्ली र टिस्टा बजार क्षेत्रसम्म विभिन्न खण्डहरूमा टिस्टा नदीको सतहमा उल्लेखनीय वृद्धि भएको बताइएको छ। उनले नाजुक अवस्थालाई ध्यानमा राख्दै केन्द्रिय मन्त्रीलाई एनएच १० को बाढी-प्रवण खण्डहरूमा तत्काल प्राविधिक मूल्याङ्कन र स्थिरीकरण कार्यको लागि आग्रह गरेका छन्। उनले एक रणनीतिक, दीर्घकालिक समाधानको रूपमा टिस्टा नदीको विपरित तटमा सेवकदेखि मल्लीबीच एक वैकल्पिक ग्रीनफिल्ड राजमार्गको प्रस्तावमा गम्भीरतापूर्वक विचार गर्न मन्त्रीलाई आग्रह गरेका छन्।

केन्द्रिय मन्त्री नितिन गडकरीले सांसदद्वारा उठाइएका चिन्ता र मागहरूमा उचित कारबाही गर्न मन्त्रालयका अधिकारीहरू र अभियन्ताहरूलाई निर्देशन दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सांसद सुब्बाले यस महत्वपूर्ण विषयमा मन्त्रालयको तत्काल कारबाहीको आशा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande