तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा शिक्षकहरू सम्मानित
तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा शिक्षकहरू सम्मानित


खरसाङ, 01 अगस्त (हि.स.)। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा वर्ष 2016 का ब्याचद्वारा धन्यवाद कार्यक्रम आयोजना गरेर शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाइएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न धन्यवाद कार्यक्रमलाई प्रभारी शिक्षिका रञ्जना प्रधानले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा पूर्व शिक्षक प्रभारी चन्द्रशेखर श्रेष्ठ उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व प्रधान अध्यापक लिला सिंह, पूर्व शिक्षकद्वय टिकादत्त गिरी र बिक्रम मंगर, पूर्व अशिक्षणकर्मी सुकचन्द्र लिम्बु र मनकुमारी सार्की उपस्थित रहेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट सर्वपल्ली डा राधाकृष्णनको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरेर कार्यक्रम शुरु गरियो।

कार्यक्रममा 2016 ब्याचका पूर्व विद्यार्थी राज थापा (घैयाबारी), शिक्षक स्व पेमा तामाङ, अशिक्षणकर्मी स्व ईश्वर मोथेको आत्माशान्तिको लागि एक‌ मिनटको मौन धारण गरिएको थियो। कार्यक्रममा पूर्व शिक्षक प्रभारी चन्द्रशेखर श्रेष्ठ, पूर्व प्रधान अध्यापक लिला सिंह, पूर्व शिक्षकद्वय टिकादत्त गिरी र बिक्रम मंगर, स्व शिक्षक पेमा तामाङकी पत्नी ममता सुब्बा तामाङ, अशिक्षित कर्मी स्व ईश्वर मोथेकी पत्नी प्रेरणा ठटाल, पूर्व अशिक्षणकर्मी सुकचन्द्र लिम्बू र मनकुमारी सार्कीलाई सम्मान जनाइयो। त्यसरी नै कार्यक्रममा वर्तमान शिक्षक शिक्षिकाहरु र अशिक्षणकर्मीहरुलाई पनि सम्मान जनाइयो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षक प्रभारी चन्द्रशेखर श्रेष्ठले आफ्नो सम्बोधनमा भने, विद्यालयमा विद्यार्थीहरूले राम्रो शिक्षा पाए भविष्य राम्रो बनिन्छ अनि विद्यार्थीहरुले राम्रो शिक्षा पाएको खण्डमा हाम्रो जाति, भाषा, संस्कृति, शिक्षामा‌ उन्नति भएर जाने छ। विद्यार्थीहरुले सम्झेर सम्मान गरेकोमा उनले आभार प्रकट गरे।

सभाध्यक्षा‌ प्रभारी शिक्षिका रञ्जना प्रधानले‌ आफनो वक्तव्यमा 2016 ब्याचका विद्यार्थीहरुद्वारा गरिएको सम्मानको लागि आभार प्रकट गर्दै विद्यार्थीहरुबाट पनि हामीहरूले शिक्षा लिनुपर्छ भनिन्। उनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी संगठन गठन गर्न पनि आह्वान् गरिन्।

कार्यक्रममा पूर्व विद्यार्थीहरु एवं चर्चित गायकहरु महेश सेवा, कर्म मोक्तान, राकेश लामा, युवा गायकद्वय सुरज तामाङ र सतीश राई लगायत अन्यहरूले पनि गीत प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande